
भारत सरकारको ‘दूतावास क्रिकेट फेलोशिप फर नेपाली यूथ’ अन्तर्गत तीन नेपाली यू-१९ क्रिकेट खेलाडीहरू एक महिनाका लागि भारतको भोपालस्थित एलबी शास्त्री क्रिकेट शालामा विशेष प्रशिक्षणमा जाने भएका छन् ।
दूतावासले २०२५ जुनमा घोषणा गरेको फेलोशिप कार्यक्रमअन्तर्गत नरेन भट्ट, साहिल पटेल र पूजा महतोले २०८२ साउन १ देखि साउन २९ सम्म भारतमा प्रशिक्षण लिने छन् ।
काठमाडौंस्थित भारतीय दूतावासद्वारा जारी विज्ञप्तिअनुसार उक्त पहल नेपालको युवा क्रिकेट प्रतिभालाई प्रवर्द्धन गर्नुका साथै क्रिकेटको साझा रुचिमार्फत भारत–नेपालबीचको जनस्तरको सम्बन्ध सुदृढ गर्न लक्षित गरिएको छ ।

दूतावासले यस कार्यक्रमबाट नेपाली खेलाडीहरूको सीपमा उल्लेख्य सुधार आउने विश्वास व्यक्त गरेको छ, जसले नेपालको क्रिकेट भविष्यलाई अझ सशक्त बनाउने अपेक्षा गरिएको छ ।
शुक्रबार भारतीय राजदूत नवीन श्रीवास्तवले ती खेलाडीहरूसँग भेटघाट गरी आगामी प्रशिक्षणका लागि शुभकामना व्यक्त गरे ।
उक्त कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुर बहादुर चन्द पनि सहभागी थिए ।
राजदूत श्रीवास्तवले खेल क्षेत्रको सहयोगले दुई देशबीचको सम्बन्धलाई जनस्तरमा अझ मजबुत बनाउने विश्वास व्यक्त गरे ।