
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा वामपन्थी शक्तिबीच ध्रुवीकरणका लागि प्रयास भइरहेको बताएका छन्।
पार्टी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियूको प्रथम केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले अहिले देशको आर्थिक, राजनीतिक तथा सामाजिक सङ्कटको समाधानका लागि ध्रुवीकरण आवश्यकता रहेको बताए ।
कम्युनिष्ट पार्टीप्रति जनताको भरोसा र विश्वास रहेको बताउँदै अध्यक्ष नेपालले सिद्धान्तमा निष्ठावान तथा जनताप्रति समर्पित वाम समूहको एकता अपरिहार्य रहेको विचार व्यक्त गरे ।
पूर्वप्रधानमन्त्री नेपालले परिवर्तनलाई संस्थागत गर्न सुशासन, रोजगारी, जनतालाई सेवा प्रवाहको विषय प्राथमिकतमा राख्नुपर्ने उल्लेख गरे । पतञ्जली जग्गा सट्टापट्टा प्रकरण मन्त्रिपरिषद्को नीतिगत निर्णय भएकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १२ वर्ष अगाडि तामेलीमा राखेको बताउँदै उनले राजनीतिक षड्यन्त्रका कारण आफूलाई उक्त विषयमा मुद्दा दायर गरिएकामा असन्तुष्टि व्यक्त गरे ।