
खानेपानीमन्त्री प्रदीप यादवले सचेत र सक्रिय नगरवासीको सहयोग तथा समन्वय बिना खानेपानीको सङ्कटबाट मुक्त हुन नसकिने बताएका छन् ।
आज सामाजिक सञ्जाल मार्फत उनले तराई–मधेस क्षेत्रमा जलवायु परिवर्तनको प्रतिकूल असर स्वरूप परेको खडेरीका कारण स्थानीय बासिन्दाहरूले अत्यन्तै पीडा र खानेपानीको अभाव भोग्न बाध्य भएकाले पर्सा, वीरगञ्जका सचेत र सक्रिय नगरवासीको सहयोग तथा समन्वय बिना खानेपानीको सङकटबाट मुक्त हुन नसकिने उल्लेख गरे ।
केहि दिनदेखि वीरगञ्ज महानगरपालिका क्षेत्रमा खानेपानीको चरम अभाव व्योहोरी रहेका र यसका लागि संघीय सरकार स्थानीय महानगरपालिकासँग समन्वय गरेर त्यसको समाधानका लागि विभिन्न कार्यको थालनी युद्ध स्तरमा भईरहेको बताए ।
उनले भने, “डिप बोरिङ्ग जडान, खानेपानी संस्थान द्वारा वितरित पानीमा भईरहेको चुहावट नियञ्त्रण तथा खानेपानी संस्थान बाट धारा जडानमा सहजताका लागि आवश्यक जनशक्ति स्रोतको व्यवस्था गरिएको छ । हाम्रो एकमात्र पवित्र उद्देश्य सबैलाई सहज रूपमा खानेपानीको आपूर्ति होस भन्ने हो ।”
यसैगरी मन्त्री यादवले नेपाल खानेपानी संस्थान वीरगञ्ज शाखाले दैनिक ८० लाख लिटर पानी उत्पादन तथा बितरण गर्दै आईरहेको तथा जनताको घर घरमा सहज तरिकाले पानी पुर्याउने क्रममा हाल कैयौँ ठाउँमा जडित भल्वहरु पुरै खोलिएकोमा खानेपानी संस्थानबाट अनुगमन गर्दा सपर्स हस्पिटल र शुभलाभ पेट्रोल पम्पको पछाडिको गल्लीको भल्ब रातिमा बन्द गरी, खानेपानी संस्थानको पाईपमा अनधिकृत रुपमा मोटर जडान गरी तथा ठाउँ ठाउँमा पाईपहरु फुटाईएको पाईएको र यसले कृत्रिम अभाव खडा गर्ने कुनियत प्रष्ट रहेको देखिएको उल्लेख गरे ।