१९ असार २०८३, शुक्रबार

गाजामा इजरायली हमलामा ११० प्यालेस्टाइनीको मृत्यु, युद्धविराम वार्ता अड्कियो

असार २९, २०८२
काठमाडौं
गाजामा इजरायली हमलामा ११० प्यालेस्टाइनीको मृत्यु, युद्धविराम वार्ता अड्कियो

शनिबार इजरायली सुरक्षाबलले गाजाका विभिन्न स्थानमा गरेको आक्रमणमा कम्तीमा ११० जना प्यालेस्टाइनीको मृत्यु भएको छ ।

तीमध्ये ३४ जना अमेरिकी सहयोगमा सञ्चालित गाजा ह्युमानिटेरियन फाउन्डेशन (जीएचएफ)को दक्षिणी राफाहस्थित केन्द्रबाहिर खाद्यान्न लिन लाइनमा उभिएका नागरिक थिए ।

प्रत्यक्षदर्शीका अनुसार राफाहको अल-शाकुश क्षेत्रमा इसरायली सेनाले जीएचएफको खाद्य सहायता केन्द्रबाहिरको भिडमाथि सिधै गोली चलाएको थियो ।

संयुक्त राष्ट्रसंघ र मानव अधिकार संस्थाहरूले यसअघि यस्ता सहायता केन्द्रलाई ‘मानव वधस्थल’ र ‘मृत्युफन्द’ भनी टिप्पणी गरिसकेका छन् ।

आक्रमणबाट बाँच्न सफल समिर शातले भनेका छन्, ‘उनीहरूले पागलझैँ गोली चलाए । म आफ्ना साथीलाई काँधमा बोकेर सहिदहरूको बीचबाट हिँडे ।’

मोहम्मद बारबाख नामका अर्को एक पीडितका अनुसार आक्रमणमा इजरायली स्नाइपरले निशाना बनाएर गोली प्रहार गरेका थिए । ‘हामीलाई सहायता लिन बोलाएर झोला सम्हाल्न दिइयो, अनि चरा सिकार गरेझैँ गोली चलाइयो’, उनले एएफपीलाई बताएका छन् ।

अलजजिराका गाजास्थित संवाददाता तारिक अबु अज्जुमका अनुसार, जीएचएफको राफाहस्थित सहायता केन्द्र अहिले एकमात्र सञ्चालनमा रहेको छ, जसका कारण लाखौं नागरिक दक्षिण गाजा सर्न बाध्य छन् । बिना चेतावनी सिधा गोली प्रहार गरियो । 

गाजाका चिकित्सकहरूका अनुसार, जीएचएफ केन्द्रहरूले सञ्चालन थालेयता मे महिनाको अन्त्यदेखि हालसम्म इजरायली आक्रमणमा कम्तीमा ८०० जनाको मृत्यु भइसकेको छ भने ५,००० भन्दा बढी घाइते छन् । 

‘धेरैजसो घाइतेहरूलाई टाउको र खुट्टामा गोली लागेको छ’, अल-अक्सा अस्पतालका प्रवक्ता खलील अल-देग्रानले जानकारी दिए, ‘औषधिको चरम अभावबीच हामी उपचार गर्न संघर्षरत छौं ।’

शनिबार गाजाको विभिन्न क्षेत्रमा गरिएका अन्य आक्रमणहरूमा गाजा सिटीको टुफाह क्षेत्रमा जाफ्फा सडक नजिकको एउटा आवासीय भवनमा गरिएको बम आक्रमणमा ४ जनाको ज्यान गएको छ र १० जना घाइते भएका छन् । 

जबालियाको दुई आवासीय भवनमाथिको आक्रमणमा १५ जना, शाती शरणार्थी शिविरमा ७ जना र उत्तरी गाजाको बैत हानुनमा करिब ५० बम खसालिँदा दर्जनौंको मृत्यु भएको गाजाका स्वास्थ्यकर्मीहरूले बताएका छन् ।

इजरायली सेनाले पछिल्ला ४८ घण्टामा गाजामा २५० पटक हवाई तथा स्थल आक्रमण गरेको जनाएको छ । तर, संयुक्त राष्ट्रसंघलगायतका संस्था र अधिकारवादी समूहहरूले पटकपटक चेतावनी दिँदै आएका भए पनि इजरायली पक्षले खाद्य सामग्री तथा अन्य मानवीय सहयोगको प्रवेशमा कडा रोक जारी राखेको छ ।

गाजाको सरकारी सञ्चार कार्यालयले शनिबार एक वक्तव्य जारी गर्दै भोकमरीका कारण हालसम्म ६७ बालबालिकाको मृत्यु भइसकेको जनाएको छ । वक्तव्यमा भनिएको छ, ‘पछिल्ला तीन दिनमा खाद्यान्न र अत्यावश्यक औषधिको चरम अभावका कारण दर्जनौं मृत्यु भएका छन् । यो अवस्था अत्यन्तै क्रूर मानवीय संकट हो।’

युद्धविराम वार्ता अड्कियो
यसबीच, इसरायल र हमासबीच युद्ध अन्त्य गर्न कतारमा जारी अप्रत्यक्ष वार्तामा ठोस प्रगति हुन सकेको छैन । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएअनुसार, दुवै पक्ष इजरायली सेना गाजाबाट कति पछाडि हट्ने भन्ने विषयमा सहमत हुन सकेका छैनन् ।

प्यालेस्टाइनी स्रोतले जनाएअनुसार, इजरायलले प्रस्ताव गरेको फिर्ती नक्सा अनुसार करिब ४० प्रतिशत गाजा क्षेत्र अझै इसरायली नियन्त्रणमै रहनेछ, जसमा राफाह, उत्तर र पूर्वी गाजाका भागहरू समावेश छन् ।

‘हमासको प्रतिनिधिमण्डलले प्रस्तावित नक्सा अस्वीकार गर्नेछ, किनभने ती नक्साले गाजाको आधाभन्दा बढी भागलाई पुनः अधिनमा राख्ने प्रयास हो’, ती अधिकारीले एएफपीलाई भनेका छन्, ‘यसले गाजालाई साना टुक्रामा बाँडेर बन्द क्षेत्र बनाइदिन्छ, जसमा कुनै पनि आवतजावत स्वतन्त्र हुने छैन ।’

दुबै पक्षबीच मानवीय सहायता प्रवेश, युद्ध अन्त्यको ग्यारेन्टी, र विस्थापितहरूको स्थानान्तरणबारे पनि गहिरो मतभेद रहेको जनाइएको छ । एक प्यालेस्टेनी अधिकारीले भनेका छन्, ‘अमेरिकाले अझ कडा भूमिका निर्वाह गरे मात्र संकट समाधान सम्भव देखिन्छ ।’

यद्यपि वार्ता रोकिएको छैन । दुबै पक्षको प्रतिनिधिमण्डल आइतबारदेखि कतारमा उपस्थित छन् र वार्ता जारी राख्ने तयारीमा छन् ।

salt training

कमेन्ट गर्नुहोस्