
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्यप्रति सरकारको उदासीनता र असफलता भएको बताएका छन् ।
सोमबारको प्रतिनिधिसभा बैठकमा प्रचण्डले कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्यप्रति सरकारको गम्भीर उदासीनता र असफलता देखिएको बताएका हुन् ।
'मेरो नेतृत्वको सरकारले कीर्तिपुरको रंगशालामा फ्लडलाइट जडान गर्न ठेक्का सम्झौता गरिसकेको थियो । तर, त्यसैबीच हामी सरकारबाट बाहिरियौं । त्यसपछि प्रधानमन्त्री (केपी शर्मा ओली) कै भाषामा शक्तिशाली दुईतिहाईको सरकार बनेको दाबी गर्दै उहाँले पहिलो निर्णयमै ३०० दिनभित्र फ्लडलाइट र प्यारापिटसहितको अन्तर्राष्ट्रिय रंगशाला निर्माण सम्पन्न गर्ने घोषणा गर्नुभयो,' उनले भने ।
तर, आज एक वर्ष अर्थात् ३६५ दिन बितिसक्दासमेत उक्त घोषणा कार्यान्वयनमा आउन नसकेको भन्दै प्रचण्डले सरकारको प्रतिबद्धता र क्षमतामाथि गम्भीर प्रश्न उठाए । 'जोडियो त फ्लडलाइट ? बन्यो त प्यारापिट' भन्दै उनले सत्तारूढ दलको घोषणा र व्यवहारबीचको अन्तर औंल्याए ।
पूर्वप्रधानमन्त्री प्रचण्डले यस्तो कार्यशैलीले सरकारको घोषणा केवल प्रचारबाजीमा सीमित भएको देखिएको बताउँदै राष्ट्रिय गौरवका अन्य आयोजनाहरूमा समेत यस्तै लापरबाही दोहोरिएकोमा चिन्ता व्यक्त गरे ।
'योजना बनाउन, बैठक राख्न र माइक समातेर उद्घोष गर्न सकिन्छ, तर विकासका काम योजनाबद्ध ढंगले निरन्तरता दिइनु पर्दछ,' उनले भने, 'तर, अहिले सरकारमा त्यो दृष्टिकोण र इच्छाशक्ति देखिएको छैन।'