
अध्ययनका लागि हरेक वर्ष लाखौँ नेपाली बिदेसिने गरे पनि विदेशबाट अध्ययनका लागि नेपाल आउनेहरू भने नगन्य मात्रामा छन् ।
मुलुकलाई शैक्षिक गन्तव्यस्थल (हब) बनाउन सकिने विषयमा सरकारी तथा गैरसरकारी संस्थाले समेत बारम्बार बताउने गरेको भए पनि व्यवहारमा देखिएको छैन ।
पछिल्लो समय त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्राडा दीपक अर्यालले समेत आफ्नो कार्यकालका मुख्य काममध्ये विदेशी विद्यार्थीलाई यहाँ ल्याउने विषय प्राथमिकतामा रहेको बताएका थिए ।
उपकुलपतिमा नियुक्त भएको भोलिपल्ट नै गत बिहीबार विश्वविद्यालयको सभामा उपस्थित भएका अर्यालले विश्वविद्यालयमा अध्ययनरत कुल विद्यार्थीमध्ये न्यूनतम तीन प्रतिशत विदेशी विद्यार्थी पुर्याउने लक्ष्य रहेको बताएका थिए । यद्यपि यस विश्वविद्यालयमा अहिले कति विदेशी विद्यार्थीले अध्ययन गर्छन् भन्ने एकीकृत तथ्याङ्क छैन । मुलुकमा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीमध्ये ८० प्रतिशतभन्दा धेरै भार त्रिविमा छ तर विदेशी विद्यार्थीलाई भने त्रिविले उल्लेख्य रूपमा आकर्षित गर्न सकेको छैन । गोरखापत्रमा खबर छ ।