२३ जेठ २०८३, शनिबार
सरसर्ती २४ घण्टा

घुसकाण्डमा मुछिएका गुप्ता अझै मन्त्री, उपेन्द्रलाई मन्त्रीको अफर

असार ३१, २०८२
काठमाडौं
घुसकाण्डमा मुछिएका गुप्ता अझै मन्त्री, उपेन्द्रलाई मन्त्रीको अफर

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले फर्जी कागजात पेश गरी पद प्राप्त गरेको आरोपमा नेपाल सरकार मन्त्रिपरिषद्ले छानबिन गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्व न्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा छानबिन समिति गठन गर्ने निर्णय गरेको हो । सो समितिले ओझाले कामै नगरेको पदमा कार्य अनुभव रहेको भनी पेश गरेको प्रमाणपत्रबारे छानबिन गर्ने एक मन्त्रीले बताए । राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्षमा खगराज शर्मा नियुक्त भएका छन् ।
००००
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकमा विवादमा तानिएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताबारे केही छलफल नभएको खुलेको छ । 

उनले घुस डिल गरेको भनिएको अडियो बाहिएपनि बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा कुनै छलफल नभएको  खुलेको हो । 

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मन्त्री गुप्ताबारे बैठकमा कुनै छलफल नभएको बताए । 

 बैठकमा मन्त्री गुप्ता पनि सहभागी थिए । तर उनी केही बोलेनन् । यसैबीच मन्त्री गुप्तालाई पदबाट हटाउन चौतर्फी दबाब छ । तर गुप्ताले राजीनामा अहिलेसम्म दिएका छैनन् भने प्रधानमन्त्री पनि यसबारे मौन छन् । 
००००
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले घुस लेनदेन काण्डको अडियो सार्वजनिक भएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई तत्काल बर्खास्त गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन् । यस्तै नेता शेखर कोइरालाले पनि गुप्ता अझै पदमा रहेको भन्दै कटाक्ष गरेका छन् ।
००००
प्रधानमन्त्री केपी शर्मा ओलीले जसपा नेपाललाई पनि सहरकारमा सहभागी हुन आग्रह गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार राति बसेको कांग्रेस, एमाले र जसपा नेपालबीचको बैठकमा प्रधानमन्त्री ओलीले उक्त पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई सरकारमा सहभागी हुन आग्रह गरेका हुन् । 
००००
नेपालमा उत्पादित स्टिलजन्य उत्पादन एक महिनादेखि भारत निर्यात हुन सकेको छैन । भारतीय पक्षले प्रतिबन्ध लगाएपछि निर्यात ठप्प भएको हो । प्रतिबन्धले नेपालको स्टिल उद्योग क्षेत्रमा ठूलो असर पर्ने अनुमान गरिएको छ ।
००००
देशकै सम्मानित राष्ट्रपतिको पद ७ वर्ष सम्हालेर नेकपा एमालेको राजनीतिमा हामफालेकी विद्यादेवी भण्डारीसामु शुरूआतबाटै चुनौतीका चाङ देखिएका छन् ।

विद्या पार्टी राजनीतिमा लामो समय सुमधुर सम्बन्ध रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको इच्छाविपरीत राजनीतिमा पुनस् पाइला राख्न खोज्दैछिन् । प्रधानमन्त्री समेत रहेका ओलीसँग भिड्ने ‘मुड’ बनाएकी उनी पहिलो दिनदेखि नै चुनौतीको चाङमा उभिएको प्रतीत हुन्छ ।
००००
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सत्य तथ्य नबुझी आफूलाई ुघुस डिल प्रकरणुमा मुछिएको दाबी गरेका छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री अधिकारीले आफूले नियुक्तिमा गलत गरेको प्रमाण ल्याए कारबाही भोग्ने बताएका हुन् ।
००००
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ ।

आज नेप्से परिसूचक ३५ दशमलव ०९ अङ्कले घटेर दुई हजार ७२५ दशमलव ७१ को विन्दुमा कायम भएको हो । यो एक दशमलव २७ प्रतिशतको गिरावट हो ।
००००
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार प्रतिनिधिसभा बैठकमा विशेष सम्बोधन गरेका छन् । 

उनले सम्बोधनका क्रममा अदालतको कार्यशैली र निर्णय प्रक्रियामाथि प्रश्न उठाए भने सत्तारूढ कांग्रेस–एमालेलाई चेतावनी दिए । 

‘अहिले आमनेपाली जनताले मात्र होइन पूरा दुनियाँले हेरेको छ( हाम्रो अदालतको कार्यशैली कस्तो छ, निर्णय प्रक्रिया कस्तो छ । हाम्रो संवैधानिक निकायहरू कुन वैधानिक र आधिकारिक मान्यतामा बन्ने र भत्किने गरेका छन् । हाम्रा संसदीय समिति र संसद् कुन अथोरिटी कुन मूल्य र मान्यतामा टेकेर अगाडि बढेका छन् दुनियाँले हेरिराखेको छ । हामी सबैको लागि चुनौती बनेको छ’ प्रचण्डले भने ।
००००
राष्ट्रपति रामचन्द्र पौडेलले तीन विधेयक प्रमाणीकरण गरेका छन् । 

संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस भएका ती विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।
००००
प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालको विस्तारित सेवा भवनको सोमबार उद्घाटन गरेका छन् ।
००००
गृहमन्त्री रमेश लेखकले स्पेन भ्रमणबारे छानबिन गर्न गृहसचिव र प्रहरी प्रमुखलाई निर्देशन दिएका छन् । 

सोमबार बिहान मन्त्री लेखकले स्पेन भ्रमणबारे छानबिन गर्न गृह सचिव गोकर्णमणि दुवाडी र प्रहरी महानिरीक्षक दीपक थापालाई निर्देशन दिएका हुन् ।
००००
नेपालको बैंकिङ क्षेत्रको समग्र सुधार र सुदृढीकरणका लागि गठित कार्यदलले अन्तिम प्रतिवेदन राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेललाई बुझाएको छ ।

नेपाल राष्ट्र बैंकबाट गठित उक्त कार्यदलको संयोजकत्व डा रेवतबहादुर कार्कीले गरेका थिए। कार्यदलमा नेपाल बैंकर्स संघका पूर्व अध्यक्ष भुवनकुमार दहाल तथा बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल सदस्य रहेका थिए ।
००००
मधेश प्रदेश सरकारको बजेट विपक्षी दलको बहिष्कारबीच पारित भएको छ । 

सोमबारको प्रदेशसभा बैठकमा विपक्षी दलको अनुपस्थितिकाबीच सत्तारूढ दलहरूको बहुमतले बजेट पारित गरिएको हो ।

salt training

कमेन्ट गर्नुहोस्