
अस्ट्रेलियाले तेस्रो तथा अन्तिम टेस्ट क्रिकेटमा घरेलु टोली वेस्ट इन्डिजलाई १ सय ७६ रनको फराकिलो अन्तरले हराएको छ । भ्रमणकारी टोली अस्ट्रेलियाले तेस्रो दिन नै नतिजा आफ्नो पक्षमा पारेको हो ।
जीतसँगै अस्ट्रेलियाले तीन टेस्टको शृंखलामा ‘क्लिन स्विप’ पनि गर्यो । यसअघि अस्ट्रेलियाले पहिलो टेस्टमा घरेलु टोलीलाई १ सय ५९ रनले हराएको थियो । दोस्रो टेस्टमा पनि अस्ट्रेलियन टोली १ सय ३३ रनले विजयी भएको थियो ।
तेस्रो टेस्टमा २ सय ४ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको वेस्ट इन्डिज आफ्नो दोस्रो पालीमा केवल २७ रनमै अलआउट भएको थियो । अस्ट्रेलियाको सजिलो जीतमा बायाँ हाते तीव्रगतिका बलर मिचेल स्टार्क नायक बने ।
३५ वर्षीय स्टार्कले एउटा विश्व कीर्तिमान पनि बनाए । उनले विश्व टेस्ट क्रिकेटको ७८ वर्ष पुरानो कीर्तिमान तोडेका हुन् । दोस्रो पालीमा उनले वेस्ट इन्डिजको ६ विकेट लिए । यस क्रममा उनले ७.३ ओभर बलिङ गर्दै केवल नौ रन खर्चिए ।
स्टार्कले चार ओभर त मेडन नै फालेका थिए । उनी टेस्ट क्रिकेटमा सबैभन्दा कम बलमा पाँच विकेट लिने बलर पनि बनेका छन् । मिचेल स्टार्कले केवल १५ बलमा वेस्ट इन्डिजका पाँच ब्याट्सम्यानलाई पेभेलियन फर्काएका हुन् ।
यसअघि सबैभन्दा कम बलमा पाँच विकेट लिने खेलाडीको कीर्तिमान अस्ट्रेलियाकै अर्नी टासहेकको नाममा थियो । उनले सन् १९४७ मा खेलिएको भारतविरुद्धको टेस्टमा १९ बलमा पाँच विकेट लिएका थिए ।
वेस्ट इन्डिजविरुद्धको खेल मिचेल स्टार्कको १००औं टेस्ट पनि हो । उनले आफ्नो पहिलो ओभरमै तीन विकेट लिएका थिए । त्यसपछि उनले पाँचौं ओभरमा दुई विकेट हात पारेका थिए ।
तेस्रो टेस्टको दोस्रो पालीमा क्यारेबियन टोली केवल २७ रनमै अलआउट भएको थियो । टेस्ट क्रिकेटको इतिहासमा यो दोस्रो सबैभन्दा कम स्कोर पनि हो ।
विश्व टेस्ट क्रिकेटको इतिहासमा सबैभन्दा कम योगफल बनाउने टोली भने न्युजिल्यान्ड हो । सन् १९५५ मा खेलिएको इङ्ल्यान्डविरुद्धको खेलमा न्युजिल्यान्ड केवल २६ रन बनाउँदै अलआउट भएको थियो ।