
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै अमेरिकामा सम्पन्न फिफा क्लब विश्वकपको ट्रफीलाई लिएर एउटा अचम्मको अभिव्यक्ति दिएका छन् ।
अमेरिकी राष्ट्रपतिले फिफा क्लब विश्वकपको वास्तविक ट्रफी आफ्नै कार्यालयमा रहेको दाबी गरेका हुन् ।
फिफा क्लब विश्वकपको २१ औं संस्करणको फाइनलमा इङ्लिस प्रिमियर लिग क्लब चेल्सीले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) लाई ३–० गोलले हराउँदै उपाधि चुमेको थियो ।
न्यू जर्सीस्थित मेट लाइफ स्टेडियममा फाइनल खेल हुँदा राष्ट्रपति ट्रम्प पनि विशेष अतिथिका रूपमा उपस्थिति थिए । उपाधि विजेता चेल्सीलाई राष्ट्रपति ट्रम्प र फिफा अध्यक्ष जियानी इन्फान्टिनोले ट्रफी हस्तान्तरण गरेका थिए ।
तर, प्रतियोगिता सकिएको दुई दिनपछि राष्ट्रपति ट्रम्पले फिफा क्लब विश्वकपको सक्कली ट्रफी आफूसँग रहेको र चेल्सीलाई ट्रफीको प्रतिलिपि मात्र दिइएको दाबी गरेका हुन् । उनले सक्कली ट्रफी ह्वाइट हाउसमा रहेको बताएका छन् ।
राष्ट्रपति ट्रम्पका अनुसार, फिफाले यसअघि नै क्लब विश्वकपको सक्कली ट्रफी सधैँका लागि ह्वाइट हाउसमा राख्न उनलाई अनुमति दिएको थियो ।
‘मैले फिफाका अधिकारीहरूलाई ट्रफी कहिले लैजाने भनेर सोधेको थिएँ । त्यसको जवाफमा उनीहरूले ट्रफी कहिल्यै नलैजाने बताए । उनीहरूले नयाँ ट्रफी बनाउने जानकारी मलाई दिएका थिए । वास्तवमै उनीहरूले क्लब विश्वकपको नयाँ ट्रफी बनाए,’ उनले भनेका छन् ।