
किशोरीहरूबाट अवैध रूपमा डिम्ब संकलन गरेर बच्चा जन्माउने प्रयोजनका लागि नि:सन्तान दम्पतीलाई बेचबिखन गरेको आरोपमा काठमाडौंका दुई वटा क्लिनिकमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान अघि बढाएको छ ।
बबरमहलमा सञ्चालित होप फर्टिलिटी एन्ड डायग्नोस्टिक प्रालि र महाराजगन्जमा सञ्चालित एन्जेल फर्टिलिटी क्लिनिकमाथि अनुसन्धान शुरू गरिएको सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) होविन्द्र बोगटीले जानकारी दिए ।
बोगटीका अनुसार यी क्लिनिकले १८ वर्षमुनिका किशोरीबाट डिम्ब संकलन गर्ने र नि:सन्तान महिलाहरूलाई ट्रान्सफर गर्ने गरेको भन्दै उजुरी परेपछि अनुसन्धान थालिएको हो । सीआईबीले होप फर्टिलिटी एन्ड डायग्नोस्टिक प्रालिका तीन चिकित्सकसहित पाँच जनालाई पक्राउ गरेको थियो ।
पक्राउ पर्नेमा डा. असिम अधिकारी, डा. स्वस्ती शर्मा, डा. मलिना चौधरी, जस्टिना प्रधान र अलिसा ओली थिए । पक्राउ परेका पाँचै जनालाई काठमाडौं जिल्ला अदालतमा म्याद थपका लागि सीआईबीले उपस्थित गराउँदा अदालतले थुनाबाहिर राखेर अनुसन्धान अगाडि बढाउन आदेश दिएपछि प्रहरीले उनीहरूलाई हाजिरी जमानीमा छाडेको छ ।
एन्जेल फर्टिलिटी क्लिनिकबाट पक्राउ परेका अर्का एक जनालाई पनि प्रहरीले हाजिर जमानीमा छाडेको छ । होप फर्टिलिटी एन्ड डायग्नोस्टिक प्रालिमा एजेन्टको रूपमा कार्यरत २० वर्षीया जस्टिना प्रधानले रजस्वला भएको तेस्रो दिनका किशोरीलाई सम्पर्कमा ल्याउने गर्थिन् । त्यस्ता किशोरीलाई बबरमहलमा लगेर १० दिनसम्म राख्ने र नाइटो वरपर १० वटा सिरिन्ज लगाउने गरिन्थ्यो ।
१३ औं दिनमा बेहोस बनाएर ओभरीमा जम्मा भएको डिम्ब निकालेर नि:सन्तानहरूलाई ट्रान्सफर गर्ने गरेको सीआईबीको अनुसन्धानले देखाएको छ । डिम्ब संकलन गरेबापत किशोरीलाई १५ हजारसम्म दिने र एजेन्टले ४० हजार लिने गरेको भेटिएको छ ।
नि:सन्तान दम्पतीहरूले डिम्ब लिएबापत क्लिनिक सञ्चालकहरूलाई बढीमा २० लाखसम्म तिर्दै आएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृत बताउँछन् ।
क्लिनिक सञ्चालकहरूले कृत्रिम गर्भधारण (आईभीएफ) प्रविधिको नाममा कानून विपरीत किशोरीहरूको डिम्ब निकालेर बेचेको पाइएपछि अनुसन्धान अघि बढेको थियो ।
डिम्ब निकालेका किशोरीहरूमा दुब्लाउने र खाना अरुचिको समस्या देखिएपछि अभिभावकले सीआईबीमा उजुरी गरेका थिए । अहिलेसम्म सीआईबीमा दुई वटा उजुरी दर्ता भएको छ । प्रहरीले आरोपीहरूविरुद्ध बालबालिका विरुद्धको कसूरमा जाहेरी दर्ता गरेर अनुसन्धान गरिरहेको छ ।