
प्रहरीले सुर्खेत, बाँके र जाजरकोटमा संगठित रूपमा नक्कली नोट उत्पादन तथा लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ ।
उनीहरूबाट करिब १३ लाख रूपैयाँ बराबरको नेपाली नक्कली नोट र ३० केजीभन्दा बढी अफिमजस्तो लाग्ने पदार्थ बरामद भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख, एसपी सुधीरराज शाहीका अनुसार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० स्थित शान्तिटोलमा सोमबार दिउँसो १:३० बजे खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा जाजरकोटको कुशे गाउँपालिका–५ की २२ वर्षीया दिलमाया सिंह ठकुरीलाई १,००० दरका ६ थान नक्कली नोटसहित पक्राउ गरेको थियो ।
त्यसपछि अनुसन्धानको क्रममा दिलमाया सिंह र रामबहादुर सिंह (३३) को डेराबाट थप १,२३६ थान नक्कली नोट बरामद गरिएको थियो, जसको मूल्य १२ लाख ३६ हजार रूपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ।

सोमबार राति, प्रहरीले कृष्णबहादुर वली (३५) र प्रेमबहादुर बिक (३८) लाई सुर्खेतको भेरीगंगा नगरपालिका-१२ स्थित डेराबाट पक्राउ गरेको थियो । उनीहरूबाट ११ पोका अफिमजस्तो देखिने गिलो पदार्थ फेला परेको थियो, जसको तौल ११ किलो ३७२ ग्राम छ ।
सोमबार नै बाँकेको कोहलपुर नगरपालिका–११ स्थित न्युरोडमा सञ्चालित ‘जनगर्जन नेटवर्क प्रालि’ नामक मिडिया हाउस र त्यसैका सञ्चालक मनबहादुर सहकारीको कोठामा छापा मार्दा १,००० दरका ५१ थान नक्कली नोट, १९ किलो ३०० ग्राम लागुऔषध (अफिमजस्तो देखिने) र नोट बनाउने उपकरण बरामद गरिएको प्रहरीले जनाएको छ ।
बरामद उपकरणहरूमा क्यानन प्रिन्टर, हाइटेक ब्रान्डको सीपीयू, जिलिन टेक ब्रान्डको मोनिटर, किबोर्ड, माउस, कार्ड र चिप्स मेमोरी, तथा क्याननक्यामेरा रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार उनीहरूलाई लागूऔषध कारोबार, मुद्रा सम्बन्धी कसूर तथा संगठित अपराध अन्तर्गत कारबाही प्रक्रिया अघि बढाइएको छ।