२५ जेठ २०८३, सोमबार

डडेल्धुरा अस्पताल स्वास्थ्य बिमाको प्रथम सेवा विन्दुबाट हट्यो

असार ३१, २०८२
डडेल्धुरा
डडेल्धुरा अस्पताल स्वास्थ्य बिमाको प्रथम सेवा विन्दुबाट हट्यो

स्वास्थ्य बिमा बोर्डले सुदूरपश्चिमको एक मात्र सङ्घीय अस्पतालका रूपमा रहेको डडेल्धुरा अस्पताललाई प्रथम सेवा विन्दुबाट हटाएको छ । बिमा बोर्डले प्रथम सेवा विन्दुमा नराखेपछि डडेल्धुरा अस्पतालले त्यस प्रकारको सेवा प्रदान गर्न नसकिने जनाएको छ । 

“उपरोक्त सम्बन्धमा स्वास्थ्य बिमाले यस डडेल्धुरा अस्पताल डडेल्धुरालाई प्रेषण केन्द्रको रूपमा मात्र सूचीकृत गरेको हुँदा साउन १ गतेदेखि यस अस्पतालले प्रथम सेवा विन्दुको रूपमा सेवा प्रवाह गर्न नसकिने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ,” डडेल्धुरा अस्पतालका निमित्त मेसु नरेन्द्रकुमार खनालद्वारा जारी सूचनामा भनिएको छ । 

सूचनाअनुसार अबदेखि डडेल्धुरा अस्पतालमा सिधैँ गएर बिमाको सेवा लिन नमिल्ने भएको छ । सेवा लिन चाहने बिमितहरूले स्थानीय तहका सूचीकृत स्वास्थ्य संस्थाबाट रेफरल सिफारिस अनिवार्य रूपमा लिएर जानुपर्नेछ ।

डडेल्धुरामा केवल परशुराम नगरपालिकाको जोगबुढा अस्पताल मात्र प्रथम सेवा विन्दुका रूपमा तोकिएको छ । जसका कारण उक्त क्षेत्रका केही सीमित सेवाग्राहीले मात्र बिमा सुविधा पाउने भएका छन् । बाँकी ६ वटा स्थानीय तहका बिमितहरूले डडेल्धुरा अस्पतालको बिमा सेवा उपयोग गर्न पाउने छैनन् ।

स्वास्थ्य बिमा कार्यालय डडेल्धुराले माथिबाट आएको निर्देशन स्पष्ट नभएकाले हाल प्रदेश सरकारसँग छलफल भइरहेको जनाएको छ । दर्ता अधिकारी दीपकबहादुर धामीले भने, “यस विषयमा प्रदेशसँग छलफल भइरहेको छ ।” उनका अनुसार डडेल्धुराका ३२ हजार नौ सय ८४ जना स्वास्थ्य बिमामा आवद्ध छन् ।

प्रदेश शाखा संयोजक जनकबहादुर साउदले भने, “प्रत्येक स्थानीय तहमा निर्माण हुने भनिएका अस्पतालबाट रेफर भएर आएका बिरामीले मात्र बिमा सेवा पाउने गरी नियमावली संशोधन गरिएको हो । तर हाल डडेल्धुरामा जोगबुढा बाहेक अन्य कुनै पनि अस्पताल प्रथम सेवा विन्दुका रूपमा तोकिएको छैन । त्यसैले अकस्मिक बाहेक अन्य बिमितले सेवा पाउने छैनन् ।” 

यस निर्णयले अस्पतालमा उपचार गराउँदै आएका सुदूरपहाडका हजारौँ बिमित नागरिक अन्योलमा परेका छन् । विशेष गरी दुर्गम गाउँबाट आउने बिरामीलाई अब नजिकको अस्पतालमा जान, त्यहाँबाट रेफरल सिफारिस ल्याउन र फेरि डडेल्धुरा आउनुपर्ने बाध्यता आइलाग्ने छ । 

salt training

कमेन्ट गर्नुहोस्