
काठमाडौं महानगरपालिका प्रमुख (मेयर) बालेन्द्र शाह (बालेन)का सल्लाहकार सन्तोष गिरी आगामी कात्तिक १७ गते रुपन्देही क्षेत्र नम्बर ३ मा हुने उपचुनावको तयारीमा जुटेका छन् । उपचुनावमा उम्मेदवार बन्ने तयारीसँगै उनले स्थानीय मतदातासँग भेटघाट थालेका हुन् ।
रुपन्देहीकै युवा सन्तोषले बुटवल, भैरहवा, तिलोत्तमालगायत क्षेत्र नम्बर ३ को निर्वाचन क्षेत्रमा पर्ने विभिन्न गाउँमा पुगेर आम मतदाताको मनस्थिति बुझिरहेका छन् । मेयर बालेनका खाद्य तथा परराष्ट्र सल्लाहकार ३३ वर्षीय गिरी तिलोत्तमा नगरपालिका–६ पश्चिम पहुनीका हुन् । उनी अहिले ठाउँ–ठाउँमा पुगेर स्थानीय वुद्धिजीवी, विश्लेषक, किसान, मजदुरलगायत सबैसँग भेटघाट गरिरहेका छन् ।
गृहजिल्ला आएर स्थानीयले कस्तो जनप्रतिनिधि खोजिरहेका छन् भन्ने आफूले बुझिरहेको गिरी बताउँछन् । भेटघाटबाट आफूले ऊर्जा प्राप्त गरेको उनको भनाइ छ ।
मतदाताहरू परिवर्तनको पक्षमा देखिएको उनले बताए । अर्थशास्त्रमा स्नातकोत्तर र कानूनमा स्नातक गरेका गिरी नेपालस्वीस च्याम्बर अफ कमर्सका प्रमुख कार्यकारी अधिकृत पनि हुन् ।
२०७९ सालको निर्वाचनमा रूपन्देही–३ बाट निर्वाचित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दीपक बोहोराको निधन भएपछि यहाँ उपचुनाव हुन लागेको हो । ‘पोष्ट कोभिड’ले पीडित बोहोराको १९ चैत २०८१ मा उपचारका क्रममा निधन भएको थियो ।
निर्वाचन आयोगले उपचुनावको मिति तय गरेसँगै जिल्लामा चुनावी माहोल शुरू भएको छ । राजनीतिक पार्टीबाट उम्मेदवारका आकांक्षीले टिकट हात पार्न सक्रियता बढाएका छन् ।
रुपन्देही–३ मा १ लाख ३९ हजार ७६४ मतदाता छन् । यो क्षेत्रमा नेपाल–भारत सीमा क्षेत्र बेलहिया नाकादेखि बुटवल उपमहानगरको वडा नम्बर १४ देखि १९, शुद्धोधन गाउँपालिका र सिद्धार्थनगर नगरपालिकाका सबै वडा, सियारी गाउँपालिकाको वडा नं. १ देखि ३, ६ र ७, ओमसतिया गाउँपालिकाको वडा नं. २, मायादेवी गाउँपालिकाको वडा नं. ७ र ८, तिलोत्तमा नगरपालिकाको वडा नं. १३ र १४ र बुटवल उपमहानगरपालिकाको वडा नं. १४ देखि १९ वडा समेटिएको छ ।