१९ असार २०८३, शुक्रबार
सरसर्ती २४ घण्टा

मन्त्रिमण्डल हेरफेरको तयारीमा ओली, २०७२ असोज १४ गते अगाडि विवाह गर्ने छोरीको पैतृक सम्पत्तिमा हक नलाग्ने

असार ३२, २०८२
काठमाडौं
मन्त्रिमण्डल हेरफेरको तयारीमा ओली, २०७२ असोज १४ गते अगाडि विवाह गर्ने छोरीको पैतृक सम्पत्तिमा हक नलाग्ने

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
सरकारको नेतृत्वमा एक वर्ष पूरा गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल हेरफेरको तयारी गरेका छन् । एक वर्षमा प्रभावकारी कार्यसम्पादन नगरेका र गम्भीर विवादमा तानिएका मन्त्री हेरफेर गर्ने तयारीमा प्रधानमन्त्री जुटेका हुन् ।

यसका लागि सत्ता साझेदार दल नेपाली कांग्रेससँग समेत छलफल शुरू भइसकेको छ । साथै, सोमबार राति प्रधानमन्त्रीले कांग्रेस र जसपाका शीर्ष नेतासँग पनि छलफल गरेका छन् । प्रधानमन्त्रीनिकट स्रोतका अनुसार विवादित बनेका र एक वर्षसम्म प्रभावकारी कार्यसम्पादन गर्न नसकेका मन्त्री ‘रेडजोन’मा छन् ।

‘यो सरकार गठन भएको एक वर्ष पुगेको छ । सरकारका कामलाई अझै रचनात्मक बनाउने र नतिजा दिनेमा कांग्रेस–एमाले दुवै दल छन्,’ प्रधानमन्त्रीनिकट स्रोतले भन्यो, ‘यसैले मन्त्रीको सेट नै परिवर्तन हुँदैन । तर, विवादमा मुछिएका, कार्यसम्पादन र मूल्यांकनमा कमजोर बनेका मन्त्री हेरफेरको तयारी भएको छ । यसका लागि गृहकार्य भइरहेको छ । १०–१५ दिनमा हुन सक्छ ।’
००००
नेपाल आयाल निगमले पेट्रोलको मूल्य एकैपटक प्रतिलिटर ५ रुपैयाँ घटाएको छ । 

निगम सञ्चालक समितिको मंगलबार बसेको बैठकले गएरातदेखि लागूहुने गरी पेट्रोलको मूल्य घटाएको हो । 
यस्तै डिजेल तथा मट्टितेलको मूल्य पनि १ रुपैयाँ घटेको छ ।
००००
विपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक–खण्डमा आगामी साउन १ गतेदेखि रातिको समयमा १२ घण्टा यातायात सञ्चालनमा रोक लगाइएको छ । 

जिल्ला प्रशासन कार्यालय धुलिखेलमा सम्पन्न सुरक्षा समिति बैठकले उक्त सडकखण्डको काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको सिमाना नेपालथोकसम्म एक महिनाका लागि सडक सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।  
००००
राजनीतिमा फर्किएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको व्यक्तिगत वेबसाइट मंगलबार औपचारिक रूपमा सार्वजनिक गरिएको छ।

वेबसाइटमा पूर्व राष्ट्रपतिको सार्वजनिक जीवन, राजनीतिक योगदान, राष्ट्रपतिको भूमिकाका साथसाथै अन्तर्राष्ट्रिय मञ्चहरूमा सहभागिता, विचार–अभिव्यक्तिहरू, तस्बिरसहितका स्मृतिहरू, प्रमुख सम्बोधनहरू, प्रकाशित सामग्रीहरू तथा अन्य सम्बन्धित अभिलेखहरू समेटएको उनका स्वकीय सचिव राजकुमार राईले जानकारी दिए ।
००००
नेपाल बीमा प्राधिकरणका अध्यक्ष सेवन्तक पोखरेलले मंगलबार प्राधिकरणमा अध्यक्षको कार्यभार सम्हालेका छन् ।

अर्थ मन्त्रालयका सहसचिव पोखरेललाई सरकारले अर्को व्यवस्था नभएसम्मका लागि प्राधिकरणको अध्यक्ष भई कामकाज गर्न जिम्मेवारी दिएको छ ।
००००
विवाहित छोरीहरूले पनि पैतृक सम्पत्तिमा समान हक पाउने भन्ने संवैधानिक एवं कानूनी व्यवस्था कुन मितिदेखि लागू हुने भन्ने विषयमा सर्वोच्च अदालतले फैसला गरेको छ । तर, मंगलबार आएको उक्त फैसलामा न्यायाधीशहरूको राय बाझिएको छ ।
सर्वोच्चको बृहत् पूर्ण इजलासमा तीन न्यायाधीशले एउटा राय दिँदा बाँकी दुई न्यायाधीशले फरक राय दिएका छन् । न्यायाधीशद्वय सपना प्रधान मल्ल र महेश शर्मा पौडेलको राय अल्पमतमा परेको छ । 

न्यायाधीशहरू मनोजकुमार शर्मा, शारंगा सुवेदी र अब्दुल अजीज मुसलमानको रायमा बहुमत पुगेका उक्त फैसला नै कार्यान्वयन हुनेछ । फैसला अनुसार २०७२ साल असोज १४ गते अगाडि विवाह गर्ने छोरीको पैतृक सम्पत्तिमा हक लाग्ने छैन ।
००००
नेकपा एमाले केन्द्रीय संगठन विभागले पार्टी सदस्यता नवीकरण पूर्व अनिवार्यरूपमा परीक्षा दिनुपर्ने निर्णय गरेको छ ।

विभागको २३ औं बैठकले ३ महिने वडा केन्द्रित पार्टी निर्माण अभियानको समीक्षा गरेको विभागका सचिव माधव ढुङ्गेलले जानकारी दिए ।
००००
गृह मन्त्रालयले पाँच जना सहसचिवको सरुवा तथा पदस्थापन गरेको छ । 

गृहमन्त्री रमेश लेखकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा खोटाङका प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेलाई सरुवा गरेका छन् । घिमिरेले यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्ताको जिम्मेवारी समेत सम्हालिसकेका छन् ।
००००
राष्ट्रियसभा सदस्य भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री नियुक्त भएकी छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार अपरान्ह उनलाई मन्त्री नियुक्त गरेका हुन् ।
००००
मालपोत कार्यालय भक्तपुरका प्रमुख कुमार आचार्य करिब २५ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मंगलबार दिउँसो पक्राउ गरेको हो ।
००००
किशोरीहरूबाट अवैध रूपमा डिम्ब संकलन गरेर बच्चा जन्माउने प्रयोजनका लागि निस्सन्तान दम्पतीलाई बेचबिखन गरेको आरोपमा काठमाडौंका दुई वटा क्लिनिकमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान अघि बढाएको छ । 

बबरमहलमा सञ्चालित होप फर्टिलिटी एन्ड डायग्नोस्टिक प्रालि र महाराजगन्जमा सञ्चालित एन्जेल फर्टिलिटी क्लिनिकमाथि अनुसन्धान शुरू गरिएको सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० होविन्द्र बोगटीले जानकारी दिए ।
००००
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३४ दशमलव ४६ अंकले बढेर दुई हजार ७६० दशमलव १७ को विन्दुमा कायम भएको छ । यो एक दशमलव २६ प्रतिशतको वृद्धि हो ।
००००
अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेलले नेपाल बिमा प्राधिकरणको अध्यक्षको शपथ लिएका छन् । 

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसमक्ष पोखरेलले मंगलबार शपथ लिएका हुन् । 

सोमबारको मन्त्रिपरिषद्को बैठकले सहसचिव पोखरेललाई अर्को व्यवस्था नहुँदासम्मका लागि बिमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष भइ काम गर्ने गरी तोक्ने निर्णय गरेको थियो ।
००००
नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले घुस प्रकरणमा विवादमा परेर राजीनामा दिएका मन्त्री राजकुमार गुप्ताले पोलेका अर्का मन्त्रीबारे प्रश्न उठाएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकको विशेष समयमा सांसद दाहालले गुप्ताले पोलेका भूमि व्यवस्था, सहकारी र गरिबी निवारणमन्त्री बलराम अधिकारीबारे प्रश्न गरेका हुन् ।
००००
स्पेनमा भएको संयुक्त राष्ट्र संघीय सम्मेलनमा भिजिट भिसामा गएर नफर्किएका नेपालीबारे छानबिन गर्न प्रहरीले समिति बनाएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का एसएसपी होबिन्द्र बोगटीको नेतृत्वमा ६ सदस्यीय समिति बनाइएको हो ।
००००
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले भ्रष्टाचार घुस लेनदेन विवादमा परेर राजीनामा गरेका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई पक्राउ गर्नुपर्ने बताएका छन् ।

भ्रष्टाचार गरेको व्यक्तिले राजीनामा गर्दैमा उन्मुक्ति पाउन नमिल्ने उनको भनाइ छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकको शुरूमै सभामुखसँग समय लिएर शाहीले घुस प्रकरणमा जोडिएका मन्त्रीलाई पक्राउ गर्नुपर्ने बताएका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्