३१ जेठ २०८३, आइतबार
ग्यास विस्थापनको योजना अलपत्र

सिंहदरबारमा थन्किए इन्डक्सन, मन्त्रीका सचिवालयदेखि क्यान्टिनसम्म ग्यासकै चुल्हो

साउन ३, २०८२
काठमाडौं
सिंहदरबारमा थन्किए इन्डक्सन, मन्त्रीका सचिवालयदेखि क्यान्टिनसम्म ग्यासकै चुल्हो

२०७९ जेठ १५ गते तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले सिंहदरबारबाट ग्यास सिलिन्डर विस्थापन गर्ने घोषणा गरेका थिए । अर्थमन्त्री शर्माले आर्थिक वर्ष २०७९/८० को बजेटमै तीन महिनाभित्र महानगर र उपमहानगरबाट ग्यास सिलिन्डर विस्थापित गर्ने अभियान घोषणा गरेका थिए । 

मन्त्री शर्माले अर्थ मन्त्रालयकै क्यान्टिनबाट ग्यास हटाउन लगाएर विद्युतीय चुलो प्रयोग गर्नसमेत लगाएका थिए । अभियानले केही समय चर्चा बटुले पनि अझै पूर्णरूपमा कार्यान्वयनमा आउन सकेको छैन । अहिले अर्थ मन्त्रालयको क्यान्टिनमा ग्यासबाटै खाना तथा खाजा पकाइन्छ । 

तत्कालीन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पप्फा भुसालले समेत सिंहदरबारबाट ग्यास हटाएर विद्युतीय चुलो प्रयोग गर्न आफू मन्त्रालय मातहतका निकायहरूलाई निर्देशन दिइएकी थिइन् । त्यसपछि अर्थ मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र ऊर्जा मन्त्रालयमा विद्युतीय चुलो राखिएको थियो । तर, अझै पूर्णरूपमा प्रयोगमा भने आउन सकेको छैन । अहिले पनि मन्त्रालयका चमेना गृह अर्थात् क्यान्टिनमा विद्युतीय चुलो छन् तर प्रयोग गरिएको छैन । 

सिंहदरबार भित्रका क्यान्टिनमा मात्रै नभएर मन्त्रालयभित्र हरेक निजी सचिवालयमा चियापानका लागि ग्यास सिलिन्डर नै प्रयोग भएको देखिन्छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा मन्त्रीको निजी सचिवालयमा  ग्यास नै प्रयोग गरिएको छ । यसका साथै उद्योग सचिव र वाणिज्य सचिवको सचिवालयमा पनि चियापानका लागि ग्यासकै प्रयोग गरेको पाइएको छ । यद्यपि, विद्युतीय चुलो पनि राखिएको छ तर, ग्यासकै प्रयोग हुने गरेको कार्यालय सहयोगी बताउँछन् । 

उद्योग मन्त्रालयमा कुल ३२ जना कार्यालय सहयोगीहरू छन् । जसमध्ये २/३ कार्यालय सहयोगीलाई छोडेर हरेक शाखा, महाशाखा र निजी सचिवालयमा चियापान र खाजाका लागि स्टेसन छन् । धेरैमा ग्यास नै प्रयोग हुन्छ ।

तर, मन्त्रालयकी उपसचिव लक्ष्मी कुमारी शाहीको दाबी भने फरक छ । उनी उद्योग मन्त्रालयमा २/३ स्टेसनबाहेक सबैमा इन्डक्सन अर्थात् विद्युतीय चुलो प्रयोग गरिँदै आएको दाबी गर्छिन् । उद्योग मन्त्रालयको क्यान्टिनमा मात्रै ग्यास र इलेक्ट्रिक चुलो दुवै प्रयोग गरिएको उनको दाबी छ । null

‘३२ जना कार्यालय सहयोगी हुनुहुन्छ । त्यसमा केही शाखालाई छोडेर सबैमा चियापानका लागि इन्डक्सन चुलो नै प्रयोग गरिन्छ’, लोकान्तरसँग उनले भनिन्, ‘मन्त्रीज्यूको निजी सचिवालय र सचिवज्यूको सचिवालयमा बत्ती जाने भएको विकल्पको रूपमा ग्यास पनि राखिएको हुन्छ ।’ 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका निजी सचिवालयमा चियापानका लागि ग्यास र विद्युतीय चुलो दुवैको प्रयोग गरिँदै आएको कार्यालय सहयोगीले बताउँछन् । मन्त्री देवेन्द्र दाहालको सचिवालयसहित सचिव सचिवालय, प्रशासन महाशाखा, योजना अनुगमन तथा मूल्याङ्कन महाशाखा, पूर्वाधार निर्माण तथा यातायात महाशाखा र विकास सहायता समन्वय तथा गुणस्तर महाशाखामा चियापानका लागि ग्यास र विद्युतीय चुलो दुवै राखिएको छ । 

भौतिक मन्त्रालयमा चियापानका लागि कूल १२ वटा स्टेसन राखिएका छन् र सबैमा इन्डक्सन चुलो प्रयोग गरिँदै आएको मन्त्रालयकी उपसचिव सुशीला पौडेल दाहालले दाबी गरिन् । मन्त्रालयको कमन क्यान्टिनमा  मात्रै ग्यास र इन्डक्सन दुवैको प्रयोग गरिँदै आएको उनको भनाइ छ । 

‘हाम्रो मन्त्रालयमा १२ वटा स्टेसनहरू रहेका छन् । सबैमा इन्डक्सनहरू प्रयोग गरिन्छ’, उनले भनिन्, ‘कहिलेकाहीँ बत्ती गएमा मात्रै ग्यास प्रयोग हुने हो । कमन क्यान्टिनमा मात्रै ग्यासको प्रयोग हुन्छ । त्यसबाहेक निजी सचिवालय र शाखा महाशाखामा इन्डक्सन नै प्रयोग हुँदै आएको छ ।’ 

यसका साथै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयभित्र चियापानका लागि विद्युतीय चुलो प्रयोग भइरहेको छ । मन्त्री र सचिवको निजी सचिवालयमा मात्रै ग्यास र विद्युतीय चुलो राखिएको एक जना कार्यालय सहयोगीले बताए । 

ऊर्जा मन्त्रालयको चमेना गृहमा ग्यासकै प्रयोग भइरहेको छ । ऊर्जा मन्त्रालयको चमेना गृहका सञ्चालकले विद्युतीय चुलो पनि रहेको बताए । तर, प्रयोग भने कहिलेकाहीँ गरिने सञ्चालकको भनाइ छ ।

null

यस्तै, अरू केही क्यान्टिनहरूमा पनि इलेक्ट्रिक चुलो राखिएको देखिन्छ । तर, प्रयोग भने निकै कम हुने गरेको क्यान्टिन सञ्चालक बताउँछन् ।

अहिले पनि सिंहदरबारभित्र गाडीमा ग्यासका सिलिन्डरहरू आउँछन् । ग्यास आयात घटाउँदै स्वदेशमै उत्पादित विद्युतको खपत गराउने उद्देश्यले गरिएको घोषणा घोषणामै सीमित भएको छ । राज्य सञ्चालन गर्ने केन्द्र सिंहदरबारबाट ग्यास विस्थापित हुन सकेको छैन ।

अर्कोतिर नेपालको कूल घरपरिवार संख्यामध्ये ५१ प्रतिशतले दाउराकै भरमा भान्सा सञ्चालन गर्दै आएको केन्द्रीय तथ्याङ्क कार्यालयले २०७८ सालमा गरेको राष्ट्रिय जनगणनाले देखाउँछ । अर्थात् ३३ लाख ९८ हजार १ सय १६ परिवार दाउराकै भरमा छन् ।

त्यस्तै, ४४ प्रतिशत घरपरिवार एलपी ग्यास सिलिन्डर प्रयोग गर्छन् भने ३ प्रतिशत गाईभैँसीको गोबरबाट तयार हुने गुइँठाको प्रयोग गर्छन् । यसैगरी वायोग्यासबाट खाना पकाउने घरपरिवारको संख्या १ प्रतिशत, बिजुलीबाट खाना पकाउने घरपरिवार १ प्रतिशत रहेको छ । 

null

सिंहदरबार ग्यास विस्थापन गर्ने घोषणाअघि नै सरकारले विद्युतीय चुलोलाई प्रवर्द्धन गदै आइरहेको थियो । २०७६ सालमा सरकारले विद्युतीय चुल्होबाट खाना पकाउँदा विद्युत् महसुलमा छुट दिने निर्णय गरेको थियो । तत्कालीन समयमा इन्डक्सनबाट खाना पकाउनेलाई १५० युनिटसम्म २० प्रतिशत विद्युत् महसुलमा छुट दिन ऊर्जा, मन्त्रालयले विद्युत् प्राधिकरणलाई निर्देशन दिइएको थियो ।

खाना पकाउने ऊर्जाको रूपमा दाउरा, गुइँठा र एलपी ग्यासलाई प्रतिस्थापन गरी बायोग्यास, विद्युतीय चुल्हो र सुधारिएको चुल्होलाई प्रवर्द्धन गर्ने भनिए तापनि केन्द्रबाटै सुधार नभएको ऊर्जा मन्त्रालयका एक कर्मचारीले बताए ।  सरकार परिवर्तन भएपछि एउटा मन्त्रीले घोषणा गरेको विषय अर्को मन्त्रीले अगाडि बढाउन नचाहने भएकोले ग्यास विस्थापन हुन नसकेको उनको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्