११ असार २०८३, बिहीबार

उच्च अदालत पोखराको मुद्दा फर्छ्यौटमा सुधार

असार ३२, २०८२
कास्की
उच्च अदालत पोखराको मुद्दा फर्छ्यौटमा सुधार

सर्वोच्च अदालतको पञ्चवर्षीय रणनीतिक योजनाअन्तर्गत उच्च अदालत पोखराले मुद्दाको फर्छ्यौटमा तीव्रता दिएको छ । उच्च अदालतको आँकडाअनुसार मुद्दा फर्छ्यौटको दर यस वर्ष वृद्धि भएको हो । गत आवमा अदालतमा रहेका कूल तीन हजार ४८८ मुद्दामध्ये एक हजार ८९८ अर्थात् जम्मा ५४.४१ प्रतिशत मुद्दा फर्छ्यौट भएकामा यस आवमा मुद्दा फर्छ्यौटको दर ७८.०७ प्रतिशत पुगेको छ । 

यस वर्ष अदालतमा रहेका कूल तीन हजार ४२० मुद्दामध्ये दुई हजार ६७० मुद्दा फर्छ्यौट भएको अदालतका रजिष्ट्रार खड्गराज अधिकारीले जानकारी दिए । फछ्र्यौट हुन बाँकी मुद्दाको सङ्ख्या ७५० रहेको छ । गत आवमा १८ महिना नाघेका मुद्दा १२ रहेकामा चालु आवमा त्यस्ता मुद्दाको सङ्ख्या शून्यमा झरेको रजिष्ट्रार अधिकारीले बताए । बर्सेनि पुराना मुद्दाको सङ्ख्या घटेको उनको भनाइ छ । 

अदालतमा आव २०७७/०७८ मा १२१, २०७८/०७९ मा ६३ र २०७९/०८० मा १७ मुद्दा १८ महिना नाघेका थिए । फर्छ्यौट हुन बाँकी ७५० मुद्दामध्ये सरल प्रकृतिका ५३४, सामान्य प्रकृतिका १८६ र विशेष प्रकृतिका ३० मुद्दा रहेको रजिष्ट्रार अधिकारीले जानकारी दिए । सर्वोच्च अदालतको ६५ प्रतिशत मुद्दा फर्छ्यौटको लक्ष्य तोके पनि त्योभन्दा बढी ७८.०७ प्रतिशत मुद्दा फर्छ्यौट भएको उनको भनाइ छ ।  

उच्च अदालतका मुख्य न्यायाधीश डा रत्नबहादुर बागचन्दले छरितो र चुस्त कार्यसम्पादनका कारण मुद्दा फर्छ्यौटमा उल्लेख्य सुधार आएको बताए । सीमित स्रोतसाधनका बाबजुद न्याय सम्पादनलाई प्रभावकारी बनाउँदै न्यायमा सबैको पहुँच अभिवृद्धिका लागि आफूहरु लागिपरेको मुख्य न्यायाधीश डा बागचन्दले बताए । 

salt training

कमेन्ट गर्नुहोस्