
पोखराको लेकसाइड पुग्ने स्वदेशी तथा विदेशी पर्यटकले अब फरक अनुभूति गर्न पाउने भएका छन् । लेकसाइडको १३ नम्बर स्ट्रिटमा अंशुभरा ग्रुपले वास्तुकला, नेपाली कला र परम्परागत तथा आधुनिक समिश्रणसहितको प्रकृतिको आभास दिलाउने बगैँचा रिसोर्ट एण्ड स्पा सञ्चालनमा ल्याउने भएको हो ।
साउनको दोस्रो सातादेखि रिसोर्ट पूर्ण रूपमा सुचारु हुनेछ । पोखराको प्रकृति, वरिपरि रहेको डाँडाकाँडा तथा हरियालीको आभास रिसोर्टले दिने छ । बगैँचा रिसोर्ट वातावरणमैत्रीको आभास दिलाउने र प्लाष्टिकरहित तथा प्रदूषणमुक्त वातावरण बनाइ जैविकमैत्री अभियानसहित सञ्चालन हुँदैछ ।
एकल महिलाद्वारा निर्मित सामग्री, स्थानीय क्षेत्रमा पाइने काठ, ढुंगा र हस्तकलामा आधारित सामग्रीले बनाइएका बगैँचाले मानिसलाई पुन: प्रकृतिसम्म पुर्याउने ग्रुपका सञ्चालक सौगात थापाले बताए । ‘शहरभित्र पनि मानिसलाई प्रकृतिसँग नजिक राख्न सकिने उद्देश्य र वातावरणलाई जीवित तुल्याउन पनि बगैँचाले ठूलो योगदान पुर्याउने छ,' उनले भने,’ बाहिरको कोलाहलबाट मुक्ति दिलाउन सक्नु र शान्त वातावरण तथा वातावरणको दीर्घकालीन विकासलाई लामो समयसम्म राख्नु बगैँचाको उद्देश्य हो ।'
बगैँचाले प्रकृतिप्रेमी सेवाग्राही तथा पर्यटकलाई शान्त जीवनशैलीको महसुस गराउने निर्देशक थापाले बताए ।
मानिसहरू प्रकृतिबाट टाढा जान नसक्ने भएकाले प्रकृतिको नजिक लैजान यो शैलीको हस्पिटालिटी व्यवसाय शुरू गरिएको थापाले खुलाए । यहाँ आउने पाहुनाले व्यवसायीक रूपमा चाहेको सब कुरा पाउने गरेर रिसोर्ट सञ्चालनमा ल्याइएको उनले बताए ।
बगैँचा रिसोर्टको कोठमा न्यानो काठका टोन, बाहिरबाट पातलो प्रकाश र हस्तकलाबाट बनेका फर्निचरका सामग्री राखिएको छ । कोठाको सजावटलाई बढी आकर्षक बनाएको छ । बगैँचाले प्राकृतिक अनुकुलतालाई पहिलो प्राथमिकतामा राखेको छ । प्लास्टिकको प्रयोगलाई पूर्ण रूपमा निषेध गरिएको छ ।
महिला सशक्तीकरणलाई पहिलो प्राथमिकतामा राखेर लक्जरी रिसोर्ट सञ्चालनमा ल्याएको उनी बताउँछन् ।
एकल महिलालाई आर्थिक रूपमा सक्षम बनाउन उनीहरूको सामग्री रिसोर्टमा प्रयोग गरिएको उनले बताए । 'हातले बनाएका सामग्री राखेका छौ,' थापाले सुनाए,' नेपालमा स्थानीय वस्तुहरू प्रयोगमा ल्याएका छौ। लोपोन्मुख राउटे समुदायले प्रयोग गर्ने भाडाकुँडा छन् ।'
थापाले रिसोर्टकै नामअनुसार स्पाको समेत सेवा सुविधा रहेको जानकारी दिए । उनले अगाडि थपे,’ नेपाली पारम्परिक उपचार पद्धतिबाट मसाज सेवा, ध्वनि उपचार ( साउन्ड हेलिङ् र सिङ्गिङ बाउल थेरापी) बगैंचाभित्र शान्त वातावरणमा हुने योग अभ्यासहरू र मानसिक पुनःस्थापनाका लागि समर्पित डिजाईन बगैंचाका विशेषता रहेका छन् ।‘
यहाँको अर्को विशेषता भनेको स्थानीय जडीबुटीबाट तयार पारिएको विशेष चिया उपलब्ध गराइने उनले जानकारी दिए ।