
अमेरिकामा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ । नेपाली समयानुसार गएराति २ बजेतिर अमेरिकी राज्य अलास्कामा ७.३ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको केन्द्रबिन्दु अलास्का प्रायद्वीपको ३६ किलोमिटरभित्र थियो ।
अमेरिकी वैज्ञानिकहरूका अनुसार, यो भूकम्प अलास्का प्रायद्वीपको बीचमा रहेको पोपोफ टापुको स्यान्ड पोइन्ट नजिकै गएको थियो।
समाचार एजेन्सी एपीको रिपोर्टअनुसार, शक्तिशाली भूकम्पको धक्कापछि सुनामीको चेतावनी पनि जारी गरिएको छ । भूकम्पपछि लगभग ७.५ लाख मानिसहरू सुनामीको खतराको सामना गरिरहेका छन् । मानिसहरू अझै पनि आतंकित छन् ।
भूकम्पपछि सबैजना आफ्नो घरबाट बाहिर निस्किएका थिए । समुद्री क्षेत्रमा बसोबास गर्ने माझीहरू पनि नराम्ररी प्रभावित भएको समाचारमा उल्लेख छ ।
भूकम्पको केन्द्रबिन्दु स्यान्ड पोइन्टबाट लगभग ८७ किलोमिटर दक्षिणमा थियो । भूकम्पबाट कति क्षति भएको छ भन्ने बारेमा पूर्ण जानकारी प्राप्त भएको छैन ।
दक्षिण अलास्का र अलास्का प्रायद्वीपका साथै केनेडी प्रवेशद्वार, अलास्काको युनिम्याक पास र प्रशान्त महासागरको तटीय क्षेत्रमा सुनामीको खतरा छ । अलास्का भूकम्पको हिसाबले एकदमै संवेदनशील क्षेत्र हो । १९६४ मा पनि यहाँ ९.२ म्याग्निच्युडको भूकम्प गएको थियो ।
भूकम्पपछि सुनामीको चेतावनीको बीचमा प्रशासनले तटीय क्षेत्रहरूमा बसोबास गर्ने मानिसहरूलाई आफ्नो घर छोड्न आग्रह गरेको छ ।
पछिल्ला दुई महिनामा अमेरिकामा धेरैपटक भूकम्प गएको छ। जुन २३ मा डेनाली बरो, एन्कोरेज र अलास्कामा ४ म्याग्निच्युडको भूकम्प गएको थियो।