
गृहमन्त्री रमेश लेखकले छाउगोठ बनाएको पाइए र महिनावारी हुँदा छाउगोठमा बस्न बाध्य पार्नेलाई स्थानीय तहबाट पाउने निश्चित सुविधामा पुनर्विचार गर्ने गरी मुलुकभरका स्थानीय तहलाई परिपत्र गरिने बताएका छन् ।
बिहीबार अन्तर पार्टी महिला सञ्जालका पदाधिकारीसितको भेटघाटमा मन्त्री लेखकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध गरी देशभरका स्थानीय तहलाई यस्तो परिपत्र गर्नेगरि गृहकार्य गरिने बताएका हुन् ।
‘महिनावारीमा ठूलो अन्धविश्वासले काम गरेको छ’, मन्त्री लेखकले भने, ‘यसको निर्मूलीकरणका लागि कसरी अगाडि बढ्ने अन्तर पार्टी महिला सञ्जालको पनि सहयोग र सुझाव आवश्यक छ ।’
महिलामाथि हुने हिंसा, बलात्कार लगायतका घटनामा सरकार गम्भीर रहेको मन्त्री लेखकको भनाइ छ ।
‘महिलाहरूको मर्यादा, गरिमा, स्वाभिमान र सुरक्षामा गम्भीर छु’, मन्त्री लेखकले भने, ‘अपराध गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउने काम पनि भइरहेको छ ।’
सो क्रममा अन्तर पार्टी महिला सञ्जालका अध्यक्ष ममता गिरीसहितको टोलीले महिला बालबालिकामाथि हुने गरेको विभेद र हिंसाका घटना नियन्त्रणका लागि मन्त्री लेखकलाई ज्ञापन पत्र समेत बुझाएका छन् ।