२५ जेठ २०८३, सोमबार
मध्य बर्खामा खडेरी

साउन लाग्दा समेत पर्याप्त वर्षा नभएपछि तराईमा रोपाइँ अवरुद्ध, रोपेको खेतमा पनि धाँजा

साउन १, २०८२
बुटवल
साउन लाग्दा समेत पर्याप्त वर्षा नभएपछि तराईमा रोपाइँ अवरुद्ध, रोपेको खेतमा पनि धाँजा

समयमा पर्याप्त वर्षा नहुँदा पश्चिम नवलपरासीको सुनवल नगरपालिका– २ का किसान हरिलाल गुप्ताले दुई विगाहा खेतमा अझै रोपाइँ गर्न पाएका छैनन् ।

धान रोप्ने मुख्य महिना असार २० गतेसम्म धानको बिरुवा तयार भए पनि आकाशे पानीको भरमा खेती गर्नुपर्ने हुँदा उनको खेत अहिलेसम्म बाँझै छ ।

'केही कुलोबाट र संकलन गरेको पानीले रोपाइँ गरिए पनि सिँचाइ नहुँदा धान सुक्न थालेको छ,' चिन्तित हुँदै गुप्ताले भने, 'खडेरीका कारण रोप्न बाँकी रहेको खेतमा साउन लाग्दा समेत पानी छैन ।'

गुप्ताजस्तै धेरै किसानले अहिले नवलपरासीको विभिन्न क्षेत्रमा कतै रोपाइँ गर्न सकेका छैनन् भने कतै रोपेको धान सुक्न थालेको छ । एक विगाहामा धान रोप्ने रुपन्देहीको मर्चवारी गाउँपालिका– ६ पिपरहवाका किसान प्रह्लाद चौधरीले पानी नपरेपछि बोरिङ गाड्ने प्रयास गरे पनि पानी ननिस्किँदा बिउ बुढिँदै गएको बताए  ।

सिँचाइ सुविधा नहुँदा उनको खेत र आसपासमा पानीको भरपर्दो स्रोत छैन ।

null

प्रत्येक वर्ष आकाशे पानीको भरमा खेती गर्दै आएका उनले विकल्प नभएपछि एक किलोमिटर टाढाको डण्डा खोलामा पम्पसेट चलाएर पाइपबाट पानी ल्याएको बताए ।

'समयमा मल पनि पाइँदैन, त्यसमाथि प्रकृतिले पनि किसानलाई नै धोका दिन्छ,' उनले भने ।

समयमा पानी नपर्दा अन्न भण्डार लुम्बिनी प्रदेशमा अपेक्षाकृत धान रोपाइँ हुन सकेको छैन । लुम्बिनी प्रदेशमा अझै धेरै खेत बाँझै छ ।

किसानहरू पानी कहिले पर्ला र रोपाइँ गर्न पाइएला भनेर आकाश हेरेर बसेको तिलोत्तमा–१७ कानपाराका किसान राजाराम यादवले बताए । पानीसँगै किसानले मलखादको समेत अभाव खेपिरहेको यादवको भनाइ छ ।

धानको 'हब'का रूपमा परिचित रुपन्देहीको मर्चवार क्षेत्र, कपिलवस्तु, पश्चिम नवलपरासी, बाँके र बर्दियाका दक्षिणी क्षेत्र मनसुन पूर्णरूपमा सक्रिय नहुँदा सुख्खा छ ।

कतै रोपाइँ नै भएको छैन भने कतै पानी नहुँदा रोपेको खेतमा धाँजा फाटेका छन्  ।

रुपन्देहीको अधिकांश खेतीयोग्य भूमिलाई सिँचाइ सुविधा पुर्‍याइराखेको तिनाउ नदीमा पानी छैन । पुरानो १६/३६ सिँचाइ संयुक्त प्रणालीको नहरबाट केही मात्रमा पानी बगे पनि अहिले नहरको केही तलदेखि दानव नदीसम्म पानी देखिँदैन ।

मनसुन सक्रिय नहुँदा उत्पादन घट्नेमा किसान चिन्तित छन् भने झमझम वर्षा हुने समयमा चर्को घाम र तापक्रम ३८ डिग्रीसम्म पुगेको छ । लुम्बिनी प्रदेशका कृषि प्रसार निर्देशक रामप्रसाद पाण्डेले पर्याप्त मात्रामा पानी नपर्दा तराईका धान खेती हुने जिल्लाहरूमा असर पुर्‍याइरहेको बताए ।

'औसतमा धान रोपाइँ सन्तोषजनक देखिन्छ,' पाण्डेले भने, 'पानीको स्रोत भएका ठाउँमा रोपाइँ भएका छन्, आकाशे पानीको भर पर्ने ठाउँमा एकतिहाइ खेतमा अझै रोपाइँ हुन सकेको छैन ।'

null

असार सकिँदा कपिलवस्तुमा जम्मा ५० प्रतिशत, रुपन्देहीमा ६५ प्रतिशत, बाँकेमा ५८ प्रतिशत, बर्दियामा ७० प्रतिशत धान रोपाइँ भएको छ । प्रदेशका अन्य जिल्लाहरूमा ७० प्रतिशतभन्दा माथि छ । प्रदेशमा कुल रोपाइँ ७४ प्रतिशत छ । सामान्यतया असार सकिँदासम्म लुम्बिनी प्रदेशमा ९० प्रतिशत रोपाइँ हुन्थ्यो ।

क्षेत्रफलको आधारमा लुम्बिनी प्रदेशमा ३ लाख १० हजार हेक्टर क्षेत्रमा धान खेती गरिन्छ । प्रदेशका तराईमा पर्ने ६ जिल्लामा उत्पादित धान निर्यात समेत हुँदै आएको छ । खडेरीका कारण खेतीयोग्य जमिन पनि साउनसम्म बाँझै रहँदा प्रत्येक वर्ष पानीकै कारण रोपाइँ गर्ने स्थान खुम्चिँदै गएको छ ।

लामो खडेरीले पानीका मुहान नरसाउँदा यस्ता जग्गामा पनि रोपाइँ कम भएको लुम्बिनी प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव यामनारायण देवकोटाले बताए ।

वैकल्पिक सिँचाइका लागि इनार, बोरिङ, स्यालो ट्युबवेलजस्ता कार्यक्रम र बिउ, मलखाद एवं प्रविधि किसानसम्म पुर्‍याउँदै आए पनि पर्याप्त नभएको उनको भनाइ छ ।

कृषि ज्ञान केन्द्र रुपन्देहीका प्रमुख शिवप्रसाद अर्यालले नेपालका रैथाने बालीले परिवर्तित मौसमलाई सहन सक्ने भए पनि उन्नत र वर्णशंकर (हाइब्रिड) जातले राम्रो उत्पादनमा कमी हुने बताए ।

'किसानहरू धेरै प्रतिफल प्राप्त गर्न हरेक वर्ष नयाँ नयाँ बिउ खोज्छन्,' अर्यालले भने, 'हाम्रा रैथाने बालीले यस्तो मौसम सहन सक्थे, उन्नत र हाइब्रिडले यस्तो मौसम सहन सक्दैनन् । अहिले रैथाने बाली हराइसके ।'

पानीसँगै रासायनिक मलको अभाव पनि किसानलाई छ ।

प्रदेशका सीमा क्षेत्रका किसानले भारतीय बजारबाट लुकिछिपी रूपमा मल ल्याउनुपर्ने बाध्यतामा छन् । मल ल्याउँदा प्रहरीले अनेक झन्झट दिने गरेको किसानहरूको गुनासो छ  ।

salt training

कमेन्ट गर्नुहोस्