
घुस सम्बन्धी अडियो विवादमा परेका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले तत्काल राजीनामा नदिने बताएका छन् ।
सरकार बन्दा नै एक वर्षपछि मन्त्रिमण्डल पुनर्गठन सहमति भएकोले त्यसमा आफू पनि पर्न सक्ने उनले संकेत गरे ।
एक वर्षका उपलब्धि सार्वजनिक गर्न बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री अधिकारीले अडियोमा आरोप लगाइएजस्तो घुस प्रकरणमा आफ्नो संलग्नता नरहेको बताएका हुन् ।
‘मन्त्री पद भनेको सधैँको लागि होइन, एक वर्षपछि मन्त्रिमण्डल पुनर्गठन हुने सहमति नै हो । सहमतिको आधारमा पुनर्गठन हुनेवाला नै छ । को हुन्छन् हुँदैनन् । जतिबेलासम्म रहन्छु जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्ने हो’, मन्त्री अधिकारीले भने ।
स्वार्थ समूहले आफ्नो अभीष्ट पूरा नभएपछि अडियो बाहिर ल्याएर आफूलाई विवादमा पार्न खोजेको मन्त्री अधिकारीले दाबी गरे ।