
आज बिहीबारदेखि धरहरा १२ घण्टा खुल्ने भएको छ । अब हरेक दिन बिहान ८ देखि बेलुकी ८ बजेसम्म धरहरा खुला हुने शहरी विकास मन्त्रालयले जनाएको छ ।
नागरिकको आवश्यकतालाई मध्यनजर गर्दै समयावधि थप गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता नारायण मैनालीले बिदाको दिन पनि धरहरा खुला रहने उल्लेख गरे ।
यसअघि दैनिक बिहान १० देखि दिउँसो ४ बजेसम्म खुला गरिँदै आइएकामा बिहीबारदेखि बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म खुला रहने उनले जानकारी दिए ।
‘अब दुई सिफ्टमा धरहरा सञ्चालन गर्दैछौं । धरहरा घुम्न चाहनेहरूका लागि सार्वजनिक बिदाको दिन पनि खुला रहनेछ’, प्रवक्ता मैनालीले भने ।
२०७२ वैशाख १२ गतेको भूकम्पले ढलेको धरहरा पुनःनिर्माणपछि गत असोज ३ गतेदेखि परीक्षणका रूपमा खुला गरिएको थियो । गत मंसिर ९ गतेदेखि सर्वसाधारणलाई शुल्कसहित धरहरा प्रवेश खुला गरिएकामा सर्वसाधारण नागरिकले धरहरा खुल्ने समय कम भएको गुनासो गरेका थिए ।
उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले नागरिकको सुझावलाई ध्यान दिँदै धरहरा सञ्चालनको अवधि बढाएर दुई सिफ्टमा सञ्चालनको तयारी गरिएको मन्त्रालयले जनाएको छ ।
भूकम्पले क्षतिग्रस्त धरहरा पुनःनिर्माणपछि सशुल्क सञ्चालन गरिएको सात महिनाको अवधिमा टिकट बिक्रीबाट चार करोड ३३ लाख ९३ हजार ६५० राजस्व संकलन भएको शहरी विकास मन्त्रालय अन्तर्गत केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन तथा आवास)ले जनाएको छ ।
इकाईअन्तर्गत रहेर सञ्चालन भइरहेको धरहरामा हालसम्म दुई लाख ३७ हजार ६५ जनाले अवलोकन गरेका छन् । विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश-२०८१ बमोजिम सशुल्क धरहरा सञ्चालन भइरहेको छ ।