
अमेरिकी सिनेटले विदेशी सहायता र सार्वजनिक प्रसारण बजेटमा झण्डै ९ अर्ब अमेरिकी डलर कटौती गर्ने विधेयक पारित गरेको छ । उक्त विधेयक बिहीबार बिहान सबेरै ५१-४८ मतले पारित भएको हो ।
यस विधेयकले पहिले नै स्वीकृत भइसकेको संघीय खर्चलाई उल्ट्याउँदै ट्रम्प प्रशासनको खर्च कटौती अभियानलाई अघि बढाएको छ ।
‘रेसिसन प्याकेज’ भनिने यो विधेयक संघीय संसद्बाट पहिल्यै पारित भइसकेको बजेट रकममध्ये ९ अर्ब डलर कटौती गर्न लागिएको पहिलो कानूनी प्रयास हो ।
यो विधेयक अब पुनः पार्लियामेन्टमा जानेछ । पार्लियामेन्टले पहिल्यै ९ दशमलव ४ अर्ब डलर कटौतीसहितको संस्करण पास गरिसकेको थियो ।
नयाँ विधेयकमा यूएसएआईडीमार्फत् सञ्चालित वैश्विक स्वास्थ्य कार्यक्रममा ठूलो कटौती गरिनेछ । साथसाथै सार्वजनिक प्रसारण सहकारीमार्फत् खर्च हुने १ अर्ब अमेरिकी डलर पनि कटौती गरिएको छ । यसको असर ग्रामीण क्षेत्रमा बसोबास गर्ने अमेरिकी नागरिकले सुन्ने सार्वजनिक रेडियोहरूमा पर्नेछ ।
अलास्काकी रिपब्लिकन सिनेटर लिसा मुर्कोवस्कीले सार्वजनिक प्रसारण बजेट कटौतीप्रति आपत्ति जनाउँदै डेमोक्र्याटहरूसँगै मतदान गरेकी थिइन् । उनीसँगै अर्का एकजना रिपब्लिकन सिनेटर पनि विपक्षमा उभिएका थिए ।
यससँगै पिपफार (एचआईभी एड्स) रोकथामका लागि छुट्याइने गरेको ४० करोड डलर भने नरोकिने भएको छ । शुरूआती प्रस्तावमा उक्त अनुदान कटौती गर्ने ड्राफ्ट गरिएको थियो । सिनेटले त्यसलाई कटौती गरेन ।
तर, अन्य धेरै अन्तर्राष्ट्रिय सहायता कार्यक्रम र सार्वजनिक प्रसारण बजेटलाई जोगाउने खालका संशोधन भने सिनेटले अस्वीकृत गर्यो ।
सिनेटमा मतदानअघि रिपब्लिकन नेता जोन थुनले भनेका थिए, ‘यो ढिलो भए पनि वित्तीय संयमतर्फको सानो तर, महत्त्वपूर्ण कदम हो । हामी सबै सहमत हुनुपर्ने कुरा हो ।’
यो विधेयक ट्रम्प प्रशासनद्वारा सञ्चालित संघीय खर्च नियन्त्रण अभियानको एक हिस्सा हो । ट्रम्पले कर कटौतीमार्फत् घाटा बढाएपछि खर्च कटौतीको अभियानमा छन् ।
अब यो विधेयक फेरि पार्लियामेन्टमा जान्छ र त्यहाँबाट पनि शुक्रबारसम्ममा पारित हुनुपर्नेछ । यदि समयसीमा बित्यो भने राष्ट्रपति ट्रम्पले कटौती योजना कार्यान्वयन गर्ने मौका गुमाउनेछन् ।
यूएसएआईडी, पिपफार र अन्य ग्लोबल हेल्थ फन्डिङ अन्तर्गतका परियोजना नेपाल, अफ्रिका, दक्षिण एसिया लगायतका क्षेत्रमा केन्द्रित छन् ।
यस कटौतीको असर धेरै देशका स्वास्थ्य, शिक्षा तथा प्रजातान्त्रिक सुदृढीकरण कार्यक्रममा पर्ने अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।