१७ असार २०८३, बुधबार

राप्रपामा विवाद चर्कियो, पार्टी एकताको रक्षाका लागि आह्वान

साउन १, २०८२
काठमाडौं
राप्रपामा विवाद चर्कियो, पार्टी एकताको रक्षाका लागि आह्वान

राप्रपाभित्र पछिल्ला केही निर्णयहरू पार्टीको विधानविपरीत गरिएको भन्दै  नेताहरूले कडा आपत्ति जनाएका छन्। उपाध्यक्ष मुकुन्दश्याम गिरी, वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे, महामन्त्री डा. धवल शम्शेर राणा र महामन्त्री कुन्ती शाहीले संयुक्त वक्तव्य जारी गर्दै पार्टी नेतृत्वको एकलौटी निर्णयले पार्टीभित्र गम्भीर असन्तोष र चिन्ता उत्पन्न भएको बताएका छन्।

उनीहरूले विधानको स्पष्ट उल्लंघन गर्दै जिम्मेवार तहबाट स्वेच्छाचारिता बढेको, शीर्ष तहको सहमति लत्याइएको र प्राकृतिक न्यायको सिद्धान्त मिचिएको आरोप लगाएका छन्। वक्तव्यमा भनिएको छ, 'वास्तवमा पार्टी एकताको मूल आधार विधानको पालना र रक्षा हो, तर पछिल्ला घटनाक्रमहरूले यसलाई कमजोर बनाएको छ।'

वक्तव्यअनुसार, राजावादीको आन्दोलन जारी रहँदा पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीको निवासमा अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्वअध्यक्ष पशुपति शम्शेर जबरा, अनुशासन समितिका अध्यक्ष नवराज सुवेदी, नेता हरिबहादुर बस्नेतलगायतको उपस्थिति रहेको बैठकमा सुवेदीलाई पुनः पूर्ण भूमिकामा फर्काउने सहमति भएको थियो। तर, उक्त सहमति लत्याउँदै सुवेदीलाई अनुशासन समितिको अध्यक्ष पदबाट हटाइएकोमा नेताहरूले कडा आपत्ति जनाएका छन्।

विधानको मर्मविपरीत महामन्त्री डा. धवल शम्शेर राणा, पार्टी प्रवक्ता सगुन सुन्दर लावती र संगठन समन्वय विभागका सदस्य सचिव धनसुर शाहीलाई स्पष्टीकरण समेत नदिई पदबाट हटाइएको विषयमा पनि आपत्ति जनाइएको छ । 

वक्तव्यमा भनिएको छ, 'विधानको यस्ता खुला उल्लंघनले राप्रपालाई अपूरणीय क्षति पुगेको छ। विगतमा पनि विधि, संख्या र सीमाको बेवास्ता गर्दै पदाधिकारी थप्ने र हटाउने कार्य दोहोरिइरहेको छ, जुन अत्यन्तै दुर्भाग्यपूर्ण हो।'

नेताहरूले पार्टी एकता कमजोर पार्ने र अनुशासनहीनता प्रवर्द्धन गर्ने व्यवहार अन्त्य गर्न नेतृत्वसँग आग्रह गरेका छन्।

पार्टी एकता र कार्यकर्ताको रक्षार्थ आफूहरू अनवरत रुपमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्दै वक्तव्यमा देशभरिका नेता तथा कार्यकर्तालाई आगामी सबै तहका अधिवेशन समयमै सम्पन्न गर्न आह्वान गरिएको छ।

salt training

कमेन्ट गर्नुहोस्