
प्रधानसेनापति अशोकराज सिग्देलले प्राविधिकतर्फ महासेनानीबाट सहायकरथीमा बढुवा भएका धर्मेन्द्रकुमार झालाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।
सैनिक मुख्यालय जङगी अड्डामा आज आयोजित समारोहमा प्रधानसेनापतिले उहाँनलाई बढुवा भएको पद सहायकरथीको दज्र्यानी चिह्न प्रदान गरेका हुन् । नेपाल सरकार मन्त्रिपरिषदले उनलाई गत असार ३० गते सहायकरथीमा बढुवा गर्ने निर्णय गरेको थियो ।
सेनाले सहायकरथी झालाई काठमाडौँ–तराई/मधेस द्रूतमार्ग आयोजना प्रमुखको जिम्मेवारी दिएको छ । यसअघि उनी गत चैत १२ देखि सोही आयोजनाको जिम्मेवारीमा थिए ।
काठमाडौँ–तराई/मधेस द्रूतमार्गको असार मसान्तसम्म भौतिक प्रगति ४१ दशमलव ३७ प्रतिशत र वित्तीय प्रगति ४२ दशमलव ७४ प्रतिशत हासिल भएको छ ।
आयोजनाअन्तर्गत सात वटा सुरूङमध्ये प्याकेज नं २ अन्तर्गत मकवानपुरको बकैया गाउँपालिका र गढी गाउँपालिकामा निर्माणाधीन धेद्रे तथा लेनडाँडा सुरूङको ‘ब्रेकथ्रु’ सम्पन भएको र बाँकी निर्माणको चरणमा रहेको मन्त्रालयले जनाएको छ ।
यसैगरी, सहायकरथीमा बढुवा भएका दिवाकरविक्रम राणा र प्रमुख सेनानीबाट महासेनानीमा पदोन्नति भएका मोहित पौडेललाई पनि बढुवा भएको पदको दज्र्यानी चिह्न प्रदान गरिएको थियो ।