२८ जेठ २०८३, बिहीबार
सरसर्ती २४ घण्टा

श्रमिकको तलब वृद्धि, रामहरिले लगाए कर्मचारीलाई दोष

साउन २, २०८२
काठमाडौं
श्रमिकको तलब वृद्धि, रामहरिले लगाए कर्मचारीलाई दोष

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आजपनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
श्रमिकहरूका लागि नयाँ न्यूनतम पारिश्रमिक साउन १ गतेदेखि लागू भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा बिहीबार बसेको त्रिपक्षीय बैठकले चिया बगान बाहेकका सबै क्षेत्रका श्रमिकका लागि मासिक तलब १९ हजार ५५० रुपैयाँ तोक्ने निर्णय गरेको हो।

श्रमिक प्रतिनिधि, रोजगारदाता तथा सरकारी पक्षबीच भएको छलफलपछि उक्त निर्णयमा पुगिएको हो। अघिल्लो न्यूनतम तलबभन्दा २ हजार २ सय ५० रुपैयाँ बढी यो दर सहमतिका आधारमा तय गरिएको हो।
००००
प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमिकको सम्मान समृद्ध नेपालको आधारशिला भएको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत् एक धारणा सार्वजनिक गर्दै उनले श्रम विना प्रगति सम्भव नभएको र श्रमिकको सम्मान विना समृद्धि सम्भव नहुने स्पष्ट पारेका छन्।
००००
नेकपा एमालेले ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने प्रस्ताव पारित गरेको छ । बिहीबार राति सम्पन्न पार्टी सचिवालय बैठकले ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने निर्णय गरेको हो । 

बैठकमा दोस्रो विधान महाधिवेशनका लागि उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको विधान संशोधनको प्रस्तावलाई अन्तिम रूप दिँदै पार्टी विधान (२०७८ संशोधन) को धारा ६४ मा रहेको ७० वर्ष उमेर हद र दुई कार्यकाल व्यवस्था हटाउने निर्णय भएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
००००
नेकपा एमालेको सचिवालय बैठकमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको विषयले प्रवेश पाएको छ । 

बिहीबार दुई बजेदेखि बसेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले आवश्यक पर्दा भण्डारीबारे निर्णय लिने बैठकमा बताएको सचिव योगेश भट्टराईले जानकारी दिए ।
००००
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाबीच भेटघाट भएको छ ।

बिहीबार साढे तीन बजेदेखि झण्डै साढे पाँच बजेसम्म प्रचण्डको खुमलटारस्थित निवासमा उनीहरूबीच भेट भएको हो । भेटका क्रममा समसामयिक विषयमा कुराकानी भएको छ । 
००००
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का चार शीर्ष नेताहरूले पार्टीभित्र विधान विपरीत नेताहरूमाथि कारबाही गरिएको बताएका छन् । 

उनीहरूले पार्टीको विधि र पद्धतिको खुला उल्लंघनले राप्रपामा अपूरणीय क्षति पुगेको भन्दै पछिल्ला निर्णय सच्याउन नेतृत्वसँग माग गरेका छन् ।
००००
नेपाल वायुसेवा निगमले जहाज खरिदका लागि लिएको ऋण अन्तर्गत २०८२ असार मसान्तसम्म ५३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ भुक्तानी गरेको छ। निगमले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै सो जानकारी दिएको हो।
००००
सार्वजनिक खरिद अनुगमन कार्यालयको बोलपत्रसम्बन्धी राष्ट्रिय अनलाइन प्रणाली ईजीपीमा नै छेडखानी गरेर ठूला ठेक्कामा गम्भीर चलखेल हुने गरेको पाइएको छ ।

अन्तिम समयमा सिस्टममा समस्या ल्याउने र त्यही बहानामा म्याद थपेर चलखेल गरी अनलाइन आवेदन दाखिला गराउने गरेको पाइएको हो ।
००००
बंगलादेशको राजधानी ढाकामा जारी साफ यू–२० महिला च्याम्पियनसिपमा नेपालले तेस्रो जीत हात पारेको छ । नेपाली टोलीले बिहीबार खेलिएको खेलमा श्रीलंकालाई ७–० गोलको फराकिलो अन्तरले हराएको हो ।
००००
बिहीबारदेखि धरहरा १२ घण्टा खुल्ने भएको छ । अब हरेक दिन बिहान ८ देखि बेलुकी ८ बजेसम्म धरहरा खुला हुने शहरी विकास मन्त्रालयले जनाएको छ ।
००००
राष्ट्रियसभा सदस्य भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनेपछि एमालेले अर्का सांसद गोपाल भट्टराईलाई प्रमुख सचेतकको जिम्मेवारी दिएको छ ।

यसअघि राष्ट्रियसभामा न्यौपाने प्रमुख सचेतक थिइन् । मंगलबार मन्त्री नियुक्त भएकी उनले बुधबार पदभार सम्हालिसकेकी छन् ।
००००
४ महिनापछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २८०० विन्दुमाथि उक्लिएको छ । 

साताको अन्तिम कारोबारका दिन बिहीबार नेप्से परिसूचक ७५.८४ अंकले बढेर २८७०.६३ को विन्दुमा कायम भएको हो ।
००००
घुस काण्डमा मुछिएका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीलाई बर्खास्त गर्न माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उजुरी परेको छ ।

आफूलाई भ्रष्टाचारविरोधी अभियन्ता बताउने युवराज पौडेल ‘सफल’ले बिहीबार प्रधानमन्त्री कार्यालयमा उजुरी दर्ता गराएका हुन् ।
००००
प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा मन्त्रालयका कर्मचारीबाट छेडखानी भएको बताएका छन् । उनले भाषा मिलाउने नाममा मन्त्रालयका प्रतिनिधिहरूले कुलिङ पिरियडको मर्ममै प्रहार गरिएको दाबी गरेका हुन् ।

संघीय निजामति विधेयकमा भएको त्रुटि सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिमा बुधवार खतिवडाले संघीय मामिला मन्त्रालय र कानून मन्त्रालयका कर्मचारीबाट बदमासी भएको बताएका हुन् । समितिले खतिवडासँग झण्डै २ घण्टा बयान लिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्