२५ जेठ २०८३, सोमबार

प्रदेश चिनाउन कोशीका ४४ स्वास्थ्य संस्थाको नाम फेरिँदै

साउन २, २०८२
विराटनगर
प्रदेश चिनाउन कोशीका ४४ स्वास्थ्य संस्थाको नाम फेरिँदै

कोशी प्रदेश सरकार मातहतका स्वास्थ्य संघसंस्थाहरूको नाम परिवर्तन गरिने भएको छ । ४४ वटा स्वास्थ्य संघसंस्थाहरूको नाम परिवर्तन गर्ने प्रदेश सरकारको तयारी छ । 

१४ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, १६ वटा अस्पताल र १४ जिल्ला स्वास्थ्य कार्यालयसहित ४४ वटा स्वास्थ्य संस्थाहरूको नाम परिवर्तन गर्न लागिएको प्रदेश स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए ।

उनका अनुसार प्रदेश सरकारले ती संस्थाहरूलाई प्रदेशको पहिचान देखिनेगरी राख्ने तयारी गरेको हो । यसका लागि प्रदेशको स्वास्थ्य मन्त्रालयले अन्तिम तयारी गरेर साउन महिनाभित्रै   मन्त्रिपरिषद् बैठकमा नाम परिवर्तन गर्न प्रस्ताव लैजाने तयारी गरेको स्रोतको दाबी छ ।

प्रदेशभरिका अस्पतालको नाम परिवर्तन गरेर त्यसमा ‘प्रदेश’ शब्द थप्ने कार्य अन्तिम चरणमा पुगेको छ । मन्त्रालयले यसका लागि आन्तरिक मामिला तथा कानुन मन्त्रालय तथा आर्थिक मामिला तथा योजना मन्त्रालयसँग राय मागेको थियो । कानुन मन्त्रालयले एक महिनाअघि नै सकारात्मक राय दिएको हो छ आर्थिक मामिला मन्त्रालयले हालै मात्र केही फरक राय दिएको छ ।

स्वास्थ्य मन्त्रालय उच्च स्रोतका अनुसार, ‘अहिले मन्त्रालयले ओएनएम सर्वेक्षण गरिरहेको छ । त्यो प्रक्रिया पूरा भएलगत्तै नाम परिवर्तनको प्रस्ताव मन्त्रिपरिषदमा लैजाने तयारी छ ।’

प्रदेश सरकारले तयार पारेको प्रारम्भिक सूचीअनुसार कोशी प्रदेशका १४ जिल्लामा रहेका १६ अस्पताल, १४ जिल्लाका आयुर्वेद उपचार केन्द्रहरू र जिल्ला स्वास्थ्य कार्यालयसहित ४४ वटा स्वास्थ्य संस्थाको नाम परिवर्तन गरिनेछ ।

यसमा एक प्रादेशिक आयुर्वेद अस्पताल (झापा), मोरङको उर्लाबारीस्थित मदन भण्डारी ट्रमा सेन्टर र विराटनगरस्थित शैलजा आचार्य हृदय रोग केन्द्रसमेतको नाम फेर्ने तयारी मन्त्रालयले गरेको छ । मदनभण्डारी ट्रमा सेन्टरबारे भने मन्त्रालय अलमलमा परेको छ ।

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार, ‘अस्पतालहरूको नाममा ‘जिल्ला’ शब्द हटाएर ‘प्रदेश’ शब्द राख्ने नीतिअनुसार सबै अस्पतालको नाम परिवर्तन गरिनेछ । ‘जिल्ला अस्पताल लेखिएको ठाउँमा अब ‘प्रदेश अस्पताल लेख्ने तयारी भएको मन्त्रालयले स्रोतले जनाएको छ । स्वाथ्य कार्यालयहरूलाई प्रदेश जनस्वास्थ्य र आयुर्वेद स्वास्थ्य केन्द्रलाई ‘प्रदेश आयुर्वेद स्वास्थ्य केन्द्र बनाइने छ ।

कोशी प्रदेशको स्वास्थ्य मन्त्री भुपेन्द्र राईले प्रदेश सरकार मातहतको अस्पतालको स्पष्ट पहिचान दिन नाम परिवर्तनको गरिने बताए । ‘जिल्ला र स्थानीय तहमा रहेका सेवा प्रदायक संस्थामा कुन सरकारअन्तर्गत भन्ने अन्योल हुने गर्थ्यो । अब ‘प्रदेश अस्पताल’ भनेर चिनिँदा नागरिकले सेवा दिने सरकार थाहा पाउने छन्,’ उनले भने, ‘अस्पतालहरूलाई प्रदेशको स्वामित्व र पहिचान दिन नामकरण आवश्यक थियो । कानुन र योजना मन्त्रालयबाट राय आइसकेको छ । स्वास्थ्य मन्त्रालयको कानूनी शाखाले दुवै रायको विश्लेषण गरिरहेको छ । त्यसपछि क्याबिनेटमा लगेर निर्णायक निर्णय गरिनेछ ।’

प्रदेश सरकार गठन भएको पाँच वर्ष नाघिसकेको अवस्थामा संस्थागत पहिचान स्पष्ट पार्ने प्रयासअन्तर्गत नामकरणको कदम अघि बढाइएको उनको भनाइ छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश सरकार मातहतका स्वास्थ्य संस्था अझै पनि पुराना नामकै भरमा चलिरहेका छन् । यसको असर संस्थाको पहिचान, जनमानसको बुझाइ र बजेट विनियोजनको स्पष्टतामा परेको छ । यिनै कारणले मन्त्रालयले नामकरणमा विशेष प्राथमिकता दिएको हो ।

नाम परिवर्तनले अस्पतालको कानूनी स्वामित्वमा खासै फरक नपरे पनि प्राविधिक, प्रशासनिक र सेवा प्रवाहमा केही स्पष्टता आउने मन्त्रालयको विश्वास छ ।

स्वास्थ्य मन्त्रालयले नामकरणपछि सबै प्रदेशस्तरीय अस्पताल, कार्यालय र केन्द्रमा साइनबोर्ड, लोगो, स्टाप्म र पत्राचार सबैमा नयाँ नामको प्रयोग अनिवार्य हुनेछ । नाम परिवर्तनपछि प्राविधिक रूपमा सबै विवरण अद्यावधिक हुनेछ ।

अब बस्न लागेको क्याबिनेट बैठकमा स्वास्थ्य मन्त्री भुपेन्द्र राईले प्रस्ताव लैजाने तयारी गरेका छन् । मन्त्रालयले सम्भावित नयाँ नामहरूको सूची पनि तयार गरिसकेको छ ।

स्रोतका अनुसार, ‘क्याबिनेटमा निर्णय भएपछि एकैपटक १६ अस्पताल, १५ आयुर्वेद केन्द्र, १४ जिल्ला स्वास्थ्य कार्यालय लगायत सबै संस्थाले नयाँ नाम पाउनेछन् । त्यसपछि कार्यान्वयन प्रक्रिया शुरू हुनेछ ।’

भौतिक पूर्वाधार विकास मन्त्री पनि उनै राई छन् । दुई वटै मन्त्रालयको जिम्मेवारी समालेका मन्त्री राईले प्रदेश सरकारले गरेको विकास निर्माणको कामको सूचना पाटीमा पनि प्रदेश सरकारद्वारा निर्मित लेख्न लगाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्