
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–२ सिम्रुतु बजार नजिकै भित्री सडकखण्डमा जीप दुर्घटना भएको छ ।
वडा नम्बर २ को बादँरपानी, रुघा हुँदै खलङ्गा जाँदै गरेको लु १ ज ४११२ नम्बरको जीप आज बिहान सिम्रुतु बजार नजिकै दुर्घटनामा परेको हो ।
जीप दुर्घटना हुँदा सात जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिए ।
उनका अनुसार घाइते हुनेमा जीप चालक त्रिवेणी–२ सिम्रुतुका ३२ वर्षीय प्रेम खड्का, त्रिवेणी–१ का ८४ वर्षीय ससे घर्ती, सोही ठाउँकै २० वर्षीया सरिता केसी, त्रिवेणी–२ की २८ वर्षीया सुनिता केसी, २२ वर्षीया गीता ओली, मुसिकोट नगरपालिका–१३ की ४० वर्षीया सपना परियार र मुसिकोट–५ का शिवकुमारी शर्मा छन् ।
घाइतेहरूको उद्धार गरी जिल्ला अस्पताल सल्ले पठाएको प्रहरीचौकी सिम्रुतुले जनाएको छ ।
जीप अनियन्त्रित भई सडकमै पल्टिएको थियो ।
जीप चालकसहित १० जना यात्रु रहेका थिए । घाइतेको अवस्था केहीको सामान्य र केहीको मध्यम रहेको प्रहरी निरीक्षक पाठकले जानकारी दिए ।
घाइतेको हातखुट्टा र टाउकोमा चोट लागेको बताएको छ ।