
काठमाडौं महानगरपपालिकाकी उपप्रमुख सुनिता डंगोलको विश्वास गर्ने, सपना देख्ने र आशावादी मान्छे सफल हुने बताएकी छिन् ।
नेपाल र चीनबीच कूटनीतिक सम्बन्धको ७० औं वर्षगाँठको अवसरमा ‘फिनिक्स इन्स्पिरेशन’ले आज काठमाडौंमा आयोजना गरेको ‘नेपाल–चीन सांस्कृतिक शिखर सम्मेलन, २०२५’ मा सम्मानित भएपछि संक्षिप्त मन्तव्य राख्दै उनले यस्तो बताएकी हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथि रहेको सो कार्यक्रममा काठमाडौं महानगरपालिकाकी उपप्रमुख डंगोलाई ‘वर्ल्ड इकोनोमिक फोरमको योङ ग्लोबल लिडर– २०२५’मा छनोट भएको भन्दै युवा सशक्तीकरण पुरस्कारबाट सम्मान गरिएको थियो ।
सम्मानपछि संक्षिप्त मन्तव्य राख्दै डंगोलले सपना देख्ने मान्छेहरू मात्रै सफल हुने भन्दै सपनाको शक्तिमा विश्वास गर्न आग्रह गरिन् । ‘जुन युवाले सपनामा विश्वास गर्छ त्यो युवाले समाजमा वास्तविक परिवर्तन ल्याउन सक्छ,’ उनले भनिन्, ‘विश्वास गर्ने मात्र होइन, काम गरेर देखाउने र आफ्नो प्रतिबद्धताअनुसार काम गर्ने व्यक्ति कहिल्यै असफल हुँदैन ।’
उनले उमेरले प्रभावलाई परिभाषित नगर्ने पनि तथ्य प्रस्तुत गरिन् । ‘प्रभावलाई परिभाषित गर्ने कुरा उद्देश्य हो । त्यसैले तपाईं जहाँ हुनुहुन्छ त्यहीँबाट प्रभाव सिर्जना गर्न सक्नुहुन्छ । तर, त्यसका लागि समाज, समुदाय, राष्ट्र र मानवताको सेवा गर्ने स्पष्ट उद्देश्य हुनुपर्छ ।’
उनले हलभरि खचाखच युवाप्रति लक्षित गर्दै भनिन्– ‘तपाईंहरूले सफलता प्राप्त गर्नुहुनेछ र त्यो सफलता तपाईंको व्यक्तिगत वृद्धिको सफलतामा मात्र सीमित हुनेछैन । त्यो समाज र राष्ट्रको सफलता पनि हुनेछ, र मानवताको नाममा पनि एउटा सफलता हुनेछ ।’
उनले ७० औं नेपाल–चीन मित्रताको अवसरमा शुभकामना व्यक्त गर्दै यो मित्रता सरकार–सरकारबीच मात्र नभई जनता–जनताबीच पनि एउटा राम्रो सम्बन्धको ढोका खोल्ने अवसर भएको बताइन् । ‘यो कार्यक्रम र ७० जना चिनियाँ विद्यार्थीहरू यही कार्यक्रममा नेपाल आउनु आफैंमा नेपाल र चीनबीच जनस्तरमा राम्रो सम्बन्ध स्थापित गर्ने एउटा उदाहरण हो,’ उनले भनिन्, ‘म आशावादी छु । यो कार्यक्रम शुरूआत मात्र हो । आगामी दिनहरूमा पनि यसले निरन्तर पाउने छ र अझ राम्रो हुँदै जानेछ ।’