
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय अनुशासन समितिको बैठक बुधबार केन्द्रीय कार्यालय, धुम्बाराहीमा सम्पन्न भएको छ। समितिकी अध्यक्ष एवं पार्टीकी वरिष्ठ उपाध्यक्ष रोशन कार्कीको अध्यक्षतामा बसेको बैठकले पार्टी नीति, विचार र सिद्धान्त विपरीत हुने गरी सार्वजनिक रूपमा अभिव्यक्ति नदिन सबै तहका नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ।
बैठकपछि जारी गरिएको प्रेस विज्ञप्तिमा सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा लिखित वा मौखिक रूपमा पार्टी हित विपरीत कुनै पनि अभिव्यक्ति नदिन र त्यस्ता क्रियाकलापबाट टाढा रहन कार्यकर्तालाई हार्दिक अनुरोध गरिएको छ।
पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा राप्रपाले उदारवाद, राष्ट्रियता र प्रजातन्त्रका आधारमा पार्टी अनुशासन पालन गर्न विशेष जोड दिएको उल्लेख गरिएको छ।