
खानेपानी मन्त्री प्रदीप यादवले धरानको खानेपानी समस्या दीर्घकालीन रूपमा समाधान गर्न तीनै तहका सरकार, सरोकारवाला निकाय र स्थानीय बासिन्दाबीच समन्वय र सहकार्य अपरिहार्य रहेको बताएका छन्।
सुनसरी उद्योग वाणिज्य संघद्वारा धरानमा आयोजित भेटघाट कार्यक्रममा बोल्दै मन्त्री यादवले आफू राजनीति गर्न नभई समस्याको समाधान खोज्न आएको स्पष्ट पारे। "धरानको खानेपानी समस्या समाधानका लागि विकल्पसहित छलफल र सहकार्य आवश्यक छ," मन्त्री यादवले भने।
उनका अनुसार संघीय सरकारले चालु आर्थिक वर्षमा धरानका लागि चार करोड रुपैयाँ बजेट विनियोजन गरिसकेको छ। तर धरान नगरपालिकाले उक्त बजेट स्वीकार नगरेको उल्लेख गर्दै उनले समाधान प्रक्रिया ढिलो भएकोप्रति चिन्ता व्यक्त गरे।
“प्रधानमन्त्री स्वयंले मलाई धरानको समस्या समाधानका लागि पटकपटक निर्देशन दिनुभएको छ,” मन्त्री यादवले भने, “तर यहाँ छलफल गर्न आउँदा नगरप्रमुखले समय नदिएको कुराले दुःख लागेको छ।”
उनले संघ, प्रदेश र स्थानीय सरकारबीच सहकार्य भएको खण्डमा मात्रै देशभरका खानेपानीसम्बन्धी समस्याको समाधान सम्भव हुने विश्वास व्यक्त गरे। “जनतालाई समस्याबाट मुक्त गराउनु मेरो पहिलो दायित्व हो,” मन्त्री यादवले थपे।