०४ असार २०८३, बिहीबार

न्यायाधीश नै अन्यायमा परेपछि…

कात्तिक २०, २०७४
न्यायाधीश नै अन्यायमा परेपछि…
काठमाडौँ, ७ माघ-जन्म १७ साउन २०१३, महेशपुर झापा । शैक्षिक योग्यता डीएल (डिप्लोमा इन ल) । ‘माननीय प्रकाशकुमार काफ्ले’ को चिनारी यतिमै सकिँदैन । आजका दिनसम्म आइपुग्दा उनले जिल्ला न्यायाधीशका रूपमा ३२ वर्ष बिताए । हाल जिल्ला न्यायाधीशका रूपमा उनी न्यायपरिषद्मा जगेडामा छन् । न्यायपरिषद्ले २८ पुसको मध्यरात ८० जनालाई उच्च अदालतको न्यायाधीश नियुक्त ग-यो । जिल्ला न्यायाधीशहरूमध्येबाट ३४ जनाले उच्च अदालतमा नियुक्ति पाए । जिल्ला न्यायाधीशमध्ये वरिष्ठताको आधारमा न्यायपरिषद्को अभिलेखमा काफ्ले एक नम्वरमा नै छन् । उनीभन्दा कनिष्ठ ३३ जना उच्च अदालत पुगे । तर, काफ्ले यसपटक पनि छुटे, आजको राजधानीमा खबर छ ।
जिल्ला न्यायाधीशकै हैसियतमा खुम्चनुप-यो । पटकपटकको नियुक्तिमा छुटेपछि यसपटक भने उनी आफू कार्यरत संस्थाप्रति बढी नै चिढिए, नियुक्तिविरुद्ध रिट बोकेर अदालत पुगे । संयोग कस्तो प-यो भने एकै दिनबाट जागिर सुरु गरेका न्यायाधीशले नै उनको रिटको सुनुवाइ गरे । इजलासले बिहीबार न्यायपरिषद्को नाममा कारण देखाउ आदेश (काफ्लेलाई नियुक्ति नगर्नुको कारण) जारी ग-यो । ती न्यायाधीश हुन्, ईश्वरप्रसाद खतिवडा ।

काफ्लेको न्यायालय यात्रा ७ चैत २०३९ मा शाखा अधिकृतका रूपमा सुरु भएको थियो । त्यसपछि तत्कालीन संवैधानिक व्यवस्थाअनुसार उनी २७ साउन २०४१ मा जिल्ला न्यायाधीश बने । त्यसबेला शाखा अधिकृतले जिल्ला न्यायाधीश पाउने व्यवस्थानुसार न्यायाधीश भएपछि उनी आजका दिनसम्म सोही पदमै सीमित छन् । नेपाल अधिराज्यको संविधान–२०४७ जारी भएपछि सो संविधानअनुसार उनले २३ कात्तिक २०४८ मा जिल्ला न्यायाधीशका रूपमा निरन्तरता पाए । न्यायपरिषद्को अभिलेखले त्यसयता उनी निरन्तर जिल्ला न्यायाधीश देखाउँछ । यसबीचमा उनले विभिन्न १६ वटा जिल्ला अदालतमा हजारांै मुद्दामा सुनुवाइ गरे, फैसला लेखे । तर, यसपटक २०६३ सालमा जिल्ला न्यायाधीश नियुक्ति भएकाले उच्च अदालतमा नियुक्ति पाउँदासमेत उनलाई नै छुटाइयो । २६ साउन २०४३ मा न्यायसेवामा प्रवेश गरी ५ वैशाख २०५८ मा जिल्ला न्यायाधीश भएका १३ जना उच्च अदालतका न्यायाधीश बनेका छन् भने २०५० सालमा न्यायसेवामा प्रवेश गरेर २३ असार २०६३ मा जिल्ला न्यायाधीश बनेकाहरूसमेत उच्च अदालतमा नियुक्ति भएका छन् ।
बिहीबार सर्वोच्चका आफूसँगै जागिर सुरु गरेका न्यायधीशले गर्ने आदेश कुरेर सर्वोच्च अदालत चमेना गृहछेउमा घाम तापिरहेका काफ्ले मलिन अनुहारमा थिए । छेउमै उभिएकाहरू फोन र भेटमा उच्च अदालतमा नियुक्ति भएकालाई बधाई दिइरहेका थिए । तर, उनी भने यसपटक पनि नपरेपछि निराश थिए । कसरी छुट्नुभो त श्रीमान् यसपटक पनि ? प्रश्न सोध्नेबित्तिकै उनी आक्रोशित देखिए, ‘खै मेरोबारे भनसुन गर्ने कोही भएनन्, कसैलाई रिझाउन अझैसम्म सकिनछु ।’ उनको आक्रोश यतिमै सकिएन । उनले भने, ‘एक वर्षदखि परिषद्मा छु । मुद्दाको संख्या हेरेर नियुक्ति गरेको भन्छन्, एक वर्षदेखि मुद्दा हेर्न नदिएको मान्छेले कहाँबाट ल्याउनु फैसलाको संख्या ?’

३२ वर्षे न्यायाधीश जीवनमा उनका हजारौं फैसला छन् । ती कति विवादको घेरामा थिए, न त परिषद्ले नियुक्तिका बेला बोल्यो न त यतिबेला परिषद् सचिवालयका कर्मचारी र नियुक्तिकर्ता नै यो बताउन सकिरहेका छन् । आखिर किन भयो त उनीमाथि यति धेरै अन्याय ? उनी भन्छन्, ‘भनसुन गर्ने मान्छे भएनन, इमानदार भएर काम गर्दाको फल पाएँ ।’ अति भएपछि आफू न्याय माग्न यतिबेला अदालत आएको उनको भनाइ छ । अदालतले उनको याचिकामा कारण देखाउ आदेश जारी गरिदियो । न्याय दिने पदमा भएका उनी आफैं भने अझै पनि न्याय पाउने आसमै छन् ।

salt training

कमेन्ट गर्नुहोस्