१९ असार २०८३, शुक्रबार
सरसर्ती २४ घण्टा

नयाँ राजनीतिक ध्रुवीकरणको प्रयासदेखि माधवको अंगालोमा वामदेवसम्म

साउन ३, २०८२
काठमाडौं
नयाँ राजनीतिक ध्रुवीकरणको प्रयासदेखि माधवको अंगालोमा वामदेवसम्म

'लोकान्तर राउण्ड अप'मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ । 
आलोपालो प्रधानमन्त्री बन्नेगरी सत्ता साझेदारी गरेका नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई काउन्टर दिने गरी नयाँ राजनीतिक ध्रुवीकरणको प्रयास भएको छ ।

सरकारका गलत कामको भण्डाफोर गर्न भनेर बन्न लागेको वाम–लोकतान्त्रिक समीकरणको उद्देश्य भने देउवा–ओली गठबन्धन टुटाएर नयाँ सरकार बनाउनु रहेको स्रोतको दाबी छ ।

स्रोतका अनुसार कांग्रेस नेता शेखर कोइरालालाई भावी प्रधानमन्त्रीको रूपमा अगाडि सारेर नयाँ मोर्चाको कसरत भएको हो ।
००००
कर्णाली विकास बैंकमा भएको ४ अर्ब ९० करोड रुपैयाँको अनियमितता प्रकरणमा नेपाल राष्ट्र बैंकका पूर्वकर्मचारी भुवन बस्नेत पक्राउ परेका छन् ।
शुक्रवार केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले सुनसरी स्थायी घर भएका ६१ वर्षीय बस्नेतलाई काठमाडौंको टोखाबाट नियन्त्रणमा लिएको एसपी होबिन्द्र बोगटीले लोकान्तरलाई बताए ।
००००
मेडिकल व्यवसायी दुर्गा प्रसाईंले साइबर अपराधसम्बन्धी दुई मुद्दामा जिल्ला अदालत काठमाडौंबाट सफाइ पाएका छन् ।
बुधबार न्यायाधीश डा राजेन्द्र कुमार आचार्यको इजलासले उनलाई सामाजिक सञ्जालमार्फत चरित्र हत्या र सामाजिक विद्वेष फैलाएको आरोपमा दायर गरिएका दुवै मुद्दामा निर्दोष ठहर गरेको हो ।
००००
नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा पुनः प्रवेशको चर्चा असान्दर्भिक रहेको टिप्पणी गरेका छन्।

शुक्रबार बसेको एमाले पोलिटब्युरो बैठकमा अध्यक्ष ओलीले पार्टीभित्रको अनुशासन, पूर्वराष्ट्रपतिको भूमिका र पछिल्लो समयको राजनीतिक बहसमा आफ्ना धारणा स्पष्ट पारेका हुन्।
००००
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय अनुशासन समितिको बैठक बुधबार केन्द्रीय कार्यालय, धुम्बाराहीमा सम्पन्न भएको छ। समितिकी अध्यक्ष एवं पार्टीकी वरिष्ठ उपाध्यक्ष रोशन कार्कीको अध्यक्षतामा बसेको बैठकले पार्टी नीति, विचार र सिद्धान्त विपरीत हुने गरी सार्वजनिक रूपमा अभिव्यक्ति नदिन सबै तहका नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ।
००००
नेपाल कम्युनिस्ट पार्टी एमालेको पोलिटब्युरो बैठकमा विधान संशोधन प्रस्तावमा छलफल भएको छ ।
ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा सम्पन्न भएको बैठकमा उपाध्यक्ष विष्णु पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावमाथि सात जनाले आ–आफ्नो धारणा राखेका छन् ।
००००
नेकपा एमालेका पोलिटब्युरो सदस्य कर्ण थापाले आसन्न विधान महाधिवेशनमा पूर्वराष्ट्रपति विद्या भण्डारीलाई विशिष्ट अतिथिको रूपमा पार्टीले बोलाउने दाबी गरेका छन् । विद्यालाई रोक्ने निर्णय सचिवालयबाट भएको भन्ने कुरा गलत भएको उनले बताए ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा शुक्रबार बसेको पोलिटब्युरो बैठकपछि पत्रकारसँग कुरा गर्दै थापाले विधान अधिवेशनमा विशिष्ट अतिथिको रूपमा बोलाउने बताएका हुन् ।
००००
२०८१ साउन ९ गते मर्मतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको ९एन एएमई कलसाइनको विमान दुर्घटनाको अन्तिम प्रतिवेदन सार्वजनिक भएको छ ।
सार्वजनिक प्रतिवेदनमा विमान उडानको बेलामा अत्यधिक चाँडो अगाडिको भाग उठ्न खोज्दा (डीप स्टल) नियन्त्रण गुमेर दुर्घटना भएको निष्कर्ष निकालिएको छ ।
प्रतिवेदनमा विमान उड्ने बेलामा रोटेसन स्पीड पर्याप्त नपुगेकै अवस्थामा अगाडिको भाग अत्यधिक चाँडो उठेका कारण दुर्घटना भएको उल्लेख छ ।
००००
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीका उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई पदमुक्त गरेका छन् । 
लिङ्देनले शुक्रबार उनलाई उपाध्यक्ष र केन्द्रीय सदस्यको जिम्मेवारीबाट हटाएका हुन् ।

पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले शुक्रबार एक विज्ञप्तिमार्फत अध्यक्ष लिङ्देनले उपाध्यक्ष गिरीलाई कारबाही गरेका जानकारी दिएका छन् ।
००००
वामदेव गौतमले नेतृत्व गरेको नेकपा एकता राष्ट्रिय अभियान र माधव नेपाल नेतृत्वको नेकपा एसबीच एकता भएको छ । शुक्रबार राष्ट्रियसभागृहमा आयोजित समारोहमा दुई पार्टीबीच एकताको घोषणा गरिएको हो ।
अध्यक्ष नेपाल, वरिष्ठ नेता झलनाथ खनाललगायतले गौतम र उनको अभियानका अन्य नेतालाई खादा र माला लगाएर स्वागत गरे । गौतमलाई अंगालो हालेर नेपालले पार्टीमा स्वागत गरेका हुन् ।
००००
हत्या अभियोगमा नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहम्मद अफताब आलमसहित ५ जनालाई सफाइ दिने फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन परेको छ ।
महान्यायाधिवक्ता कार्यालयले आलमसहित महाताब आलम, शेख सेराज भन्ने शेख सराद र बद्री सहनीलाई उच्च अदालत जनकपुरको वीरगन्ज अस्थायी इजलासले दिएको सफाइविरुद्ध सर्वोच्चमा पुनरावेदन गरेको हो ।
००००
उच्च अदालत विराटनगरको अस्थायी इजलाश ओखलढुंगाका न्यायाधीश भरत लम्सालले राजीनामा दिएका छन् ।
स्वास्थ्य समस्या देखाउँदै उनले राजीनामा दिएको सर्वोच्च अदालत प्रशासन स्रोतले पुष्टि गरेको छ । 
००००
नेपाली कांग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाले पूर्वराष्ट्रपति एवं नेकपा एमालेकी नेतृ विद्या भण्डारीसँग भेटवार्ता गरेका छन् । उनीहरूबीच शुक्रबार बिहान भण्डारीको निजी निवास चपली, बूढानीलकण्ठमा भेटवार्ता भएको हो ।  
सक्रिय राजनीतिमा आएको घोषणा गरेकी भण्डारीसँग कोइरालाले एक घण्टा लामो वार्ता गरेका हुन् । भेटमा भण्डारीले आफूलाई सहयोगका लागि कोइरालासँग आग्रह गरेकी थिइन् ।


 

salt training

कमेन्ट गर्नुहोस्