
चितवनको कालिका नगरपालिकाले सुरु गरेको जीपीएस प्रणालीमार्फत घर नम्बर राख्ने कार्य (स्मार्ट ठेगाना प्रणाली)बारे अमेरिकामा छलफल भएको छ ।
अमेरिका भ्रमणमा रहेका कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीसँग गैरआवासीय नेपाली, त्यहाँस्थित नेपाली राजदूत तथा सहभागी राजनीतिज्ञहरूले अमेरिकी राजधानी वासिङ्टन डीसीमा प्रयोग गरिएको यो प्रणाली कालिकाले अवलम्बन गरेकोमा प्रशंसा गरे ।
डीसीस्थित नेपाली राजदूतावासमा भएको छलफलमा अमेरिकाका लागि नेपालका राजदूत लोकदर्शन रेग्मीले कालिका नगरपालिकाले शुरू गरेको स्मार्ट ठेगाना प्रणालीको प्रशंसा गर्नुभएको नगरप्रमुख रेग्मीले जानकारी दिए ।
भर्जिनियामा भएको ‘मिट एन्ड ग्रिट’ कार्यक्रममा पनि जीपीएस प्रणालीबाट घर नम्बर राख्ने (स्मार्ट ठेगाना प्रणाली)बारे आफूले जानकारी दिएको उनले बताए । कालिकाले जीपीएस प्रणालीबाट नगरको नक्साङ्कन, सडक रेखाङ्कन र नामकरण थालेको छ ।