
नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले हालै पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका नेता शेखर कोइरालाको भेटबारे प्रश्न उठाएका छन् ।
एमाले केन्द्रीय कार्यालय च्यासलमा जारी पोलिटब्यूरो बैठकमा शनिबार धारणा राख्दै उनले वाम एकताको नाममा फेरि एमाले कमजोर पार्ने चालमा कम्युनिस्ट विरोधी तत्व सल्बलाएको पनि दाबी गरेर ।
‘अहिले प्रचण्ड, शेखर र विद्या भण्डारी मिलेर सत्ता समीकरण खोज्दै छन् भनेर अमरेश सिंहले भन्ने । चीन भ्रमणदेखि नारायणकाजी, शेखर कोइरालासँग विद्या कमरेडको भेटघाट र ‘सहयोग माग’ वाम एकताको नाममा फेरि एमाले कमजोर पार्ने चालमा कम्युनिस्ट विरोधी तत्व सल्बलिएका छन्, घुस्न दिनु हुन्न । अन्तिम निर्णय हाम्रो पार्टीको संगठनभित्रैबाट मात्रै हुन्छ’, बस्नेतले भने ।
उनले एमालेभित्र नेतृत्वको र पार्टीको पक्षमा उभिँदा असक्षम बनाउने र खुइल्याउने रोग बढेको पनि बताए । जतिसुकै असक्षमको ट्याग लागे पनि परिभाषित काममा आफ्नो क्षमता प्रदर्शन गर्न तयार रहेको बस्नेतले उल्लेख गरे ।
हाल अध्यक्षको विकल्प तयार नभएकोले आउँदो कार्यकाल पनि केपी ओलीकै नेतृत्वमा नेकपा एमाले अघि बढ्नुपर्ने बस्नेतको भनाइ छ ।
उनले स्थायी कमिटीको संख्या २५ पुर्याउने, उपत्यका विशेष कमिटी गठन गर्ने, प्रवासमा युवा, विद्यार्थी, मजदुर र महिला कमिटी विस्तार गर्ने र तीव्र बसाइँसराइ भएका जिल्लामा सक्रिय सम्पर्क कमिटी गठन गर्ने प्रस्ताव पनि गरेका छन् ।
पढ्नुहोस् यो पनि- BREAKING: ओली–देउवालाई काउन्टर दिन अर्को मोर्चाको प्रयास: विद्या, प्रचण्ड, माधव र शेखर एकठाउँ !
आलोपालो प्रधानमन्त्री बन्नेगरी सत्ता साझेदारी गरेका नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई 'काउन्टर' दिने गरी पछिल्लो समय नयाँ राजनीतिक ध्रुवीकरणको प्रयास भएको छ ।
पूर्वराष्ट्रपति विद्या भण्डारी, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसहितको 'नयाँ पोल' बन्न लागेको हो ।
जसबारे शुक्रबार लोकान्तरले समाचार ब्रेक गरेको थियो । त्यसको भोलिपल्ट यो विषयले एमाले पोलिटब्यूरो बैठकमा प्रवेश पाएको हो ।