१४ असार २०८३, आइतबार

रुससँग युद्धविराम वार्ताका लागि युक्रेनको आह्वान

साउन ४, २०८२
काठमाडौं
रुससँग युद्धविराम वार्ताका लागि युक्रेनको आह्वान

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्धविराम वार्ता अघि बढाउन अर्को साता रुससँग बैठकको प्रस्ताव गरेका छन् ।

शनिबार दिइएको दैनिक सम्बोधनमा जेलेन्स्कीले भने, युक्रेनको राष्ट्रिय सुरक्षा तथा रक्षा परिषद्का सचिव रुस्टेम उमेरोभले रुस पक्षलाई आगामी बैठक अर्को सातामा गर्न प्रस्ताव गरिसकेका छन् ।

‘वार्ताको गतिमा सुधार आउनुपर्छ । युद्धविराम कायम गर्न सकिने सबै सम्भावनाको प्रयोग गर्नुपर्छ । रुस पक्षले बन्दी साटासाट, बालबालिकाको फिर्ता र हत्या रोक्नेसम्बन्धी निर्णयहरूबाट भाग्न बन्द गर्नुपर्छ’, जेलन्स्कीले भने।

‘शान्ति स्थापनाको लागि नेतृत्व तहमा बैठक अत्यावश्यक छ । युक्रेन यस्तो बैठकका लागि तयार छ’, उनले थपे।

यसैबीच, रुसी सरकारी सञ्चारमाध्यम टासले वार्ता टोली नजिकको स्रोतलाई उद्धृत गर्दै कीभबाट बैठकको प्रस्ताव प्राप्त भएको पुष्टि गरेको छ ।

गत जुनको शुरूआतमा इस्तानबुलमा भएको अन्तिम चरणको युद्धविराम वार्ता निकै छोटो समयमै टुंगिएको थियो । दुवै पक्षका प्रतिनिधि झण्डै एक घण्टामात्रै बसेपछि वार्ता विफल भएको थियो ।

रुसी सञ्चारमाध्यमका अनुसार, रुसले युद्धविरामको पूर्वशर्तस्वरूप अत्यधिक भू-क्षेत्रीय माग राखेको थियो । तर, युक्रेनले शान्तिको सट्टामा कुनै भू-भाग सुम्पन अस्वीकार गर्दै आएको छ ।

जेलेन्स्कीको वार्ताको आह्वान त्यत्तिकै बेला आएको हो जब अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युद्धविरामका लागि ५० दिने समयसीमा दिएका छन् ।

यदि उक्त समयभित्र सहमति भएन भने रुसमाथि उच्च भन्सार शुल्क र रुसको तेल किन्ने देशका सामानहरूमाथि समेत ‘माध्यमिक शुल्क’ लगाउने चेतावनी ट्रम्पले दिएका छन् ।

ट्रम्पले यसै साता नेटो महासचिव मार्क रुटेसँग ह्वाइट हाउसको ओभल अफिसमा भेट गर्दै भनेका थिए, ‘यदि ५० दिनभित्र सम्झौता भएन भने हामी निकै कठोर शुल्क लगाउनेछौं ।’

हालका हप्ताहरूमा ट्रम्पले राष्ट्रपति पुटिनप्रति बढ्दो झोक देखाएका छन् र उनले पुटिनले दिएको युद्धविरामसम्बन्धी आश्वासनलाई ‘कुरा पनि नमिल्ने कुरा’भनेर टिप्पणी गरेका छन् ।

तर, पश्चिमा विश्लेषकहरू र युक्रेनी अधिकारीहरूले भने पुटिनले आगामी हप्तामा आक्रमण तीव्र बनाउने तयारी गरिरहेको बताएका छन् । उनीहरूका अनुसार ट्रम्पको ५० दिने चेतावनीले पुटिनलाई खासै असर नपर्ने सम्भावना छ ।

यसैबीच, रुसी विदेशमन्त्री सेर्गेइ लाभरोभले ट्रम्पको भन्सार शुल्कको चेतावनीलाई केवल हल्ला र धाकधम्की मात्र भन्दै उडाएका छन् ।

‘५० दिन रे! कहिले २४ घण्टा भन्थे, फेरि १०० दिन पनि भन्थे’, लाभरोभले भनेका छन्, ‘हामीले यी सबै कुरा धेरैपटक भोगिसकेका छौं ।’

salt training

कमेन्ट गर्नुहोस्