
नेपाली बुद्धिचालमा नयाँ कीर्तिमान बनाउँदै ‘राजेन्द्र केसी स्मृति हिमालयन १०० एक्स टु ब्लिट्ज' चेस प्रतियोगिता सकिएको छ । प्रतियोगितामा खुला तर्फको उपाधि क्षितिज भण्डारीले जितेका छन् ।
हिमालयन चेस एकेडेमीको आयोजनामा काठमाडौंमा सम्पन्न प्रतियोगितामा २ सय ४७ खेलाडी सहभागी थिए । यो नेपाली ब्लिट्ज चेस इतिहासकै सबैभन्दा ठूलो सहभागिता हो ।
एकेडेमीकी अध्यक्ष मोनालिसा खम्बूका अनुसार, गत वर्ष फिडे स्थापनाको १०० वर्ष पुगेको अवसरमा आयोजित प्रतियोगिताको पहिलो सँस्करण ‘हिमालयन १००’ गिनिज वर्ल्ड रेकर्डमा पनि सूचीकृत भइसकेको छ ।
यसपटक त्यही अभियानको दोस्रो सँस्करण ‘राजेन्द्र केसी स्मृति हिमालयन १०० एक्स टु’को रूपमा आयोजना गरिएको हो । प्रतियोगिताको खुलातर्फ फिडेमास्टर (एफएम) क्षितिज भण्डारीले सीएम पुरुषोत्तम सिलवाललाई पछि पार्दै १० हजार रुपैयाँ नगद पुरस्कार जिते । उनले ९.५ अंक जोडे ।
नौ अंकसहित पुरुषोत्तम दोस्रो भए । उनले ७ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे । ८.५ अंक जोडेका मुहाननरसिंह श्रेष्ठ तेस्रो भए । उनले पाँच हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
शीर्ष १० स्थानमा स्थान बनाउने अन्य खेलाडी सन्देश श्रेष्ठ, रुपेश जैसवाल, प्रेमकृष्ण महर्जन, रिसन थापा, सुरोज महर्जन, प्रेम खड्का र पुरुषोत्तम चौलागाईं हुन् ।
१९ विधामा आयोजित प्रतियोगितामा ६ वर्षदेखि ८४ वर्षसम्मका खेलाडी सहभागी थिए । कुल ६७ हजार रुपैयाँ पुरस्कार रहेको प्रतियोगितामा नायुमा मगर, निहाना श्रेष्ठ, प्रज्ञा पन्त, सात्विकमान तुलाधर, प्रवीर केसी, सीताराम अग्रवाललगायत ३२ खेलाडीले पुरस्कार प्राप्त गरे ।
विजयी खेलाडीलाई बागमती प्रदेशका सांसद शान्ता ढकाल, नेपाल बुद्धिचाल महासंघका वरिष्ठ उपाध्यक्ष दीपेन राई, नेपाल बिलियर्ड स्नुकर तथा पुल संघका अध्यक्ष सरोजकुमार मुल्मी, हिमालयन चेस एकेडमीकी संस्थापक मोनालिसा खम्बूलगायतले पुरस्कार वितरण गरे ।