२४ जेठ २०८३, आइतबार

मनसुनी वर्षाका कारण पाकिस्तानमा ठूलो जनधनको क्षति, ४८ घण्टामा ७० जनाको मृत्यु

साउन ४, २०८२
काठमाडौं
मनसुनी वर्षाका कारण पाकिस्तानमा ठूलो जनधनको क्षति, ४८ घण्टामा ७० जनाको मृत्यु

पाकिस्तानको पञ्जाब प्रान्तमा भीषण मनसुन वर्षाले व्यापक जनधनको क्षति पुर्‍याइरहेको छ । पछिल्लो ४८ घण्टामा मात्रै ७० जनाले ज्यान गुमाएका छन् भने असार महिनाको अन्त्यदेखि हालसम्म मृत्यु हुनेको संख्या १२३ पुगेको छ । 

एक्सप्रेस न्यूजका अनुसार यो जानकारी प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरणले दिएको हो । 

प्राधिकरणका अनुसार भारी वर्षाका कारण घरको छाना भत्किनु, भूक्षय र आकस्मिक बाढीका कारण ठूलो क्षति पुगेको छ । २५ जुनदेखि शुरू भएको वर्षायाममा हालसम्म ४६२ जना घाइते भएका छन् । 

शुक्रबार सबैभन्दा धेरै मृत्यु भएको रिपोर्ट गरिएको छ । लाहोर, चिनिओट, ओकारा, चकवाल र सरगोधामा १० जनाको मृत्यु भएको बताइएको छ ।

चिनिओट र लाहोरमा तीन–तीन जनाको ज्यान गएको छ, ओकारामा दुई र चकवाल तथा सरगोधामा एक–एक जनाको मृत्यु भएको हो ।

चकवाल जिल्ला सबैभन्दा धेरै प्रभावित भएको छ । त्यहाँको भीषण वर्षाले स्थानीय खोलामा बाढी आएको छ र भूस्खलनका कारण घर भत्किएका छन् । स्थानीय बासिन्दा विस्थापित भएका छन् ।

प्राधिकरणका महानिर्देशक इर्फान अलि कठियाले पोठोहार क्षेत्रमा मात्रै एक हजारभन्दा बढी मानिसको उद्धार गरिएको जानकारी दिएका छन् । तीमध्ये ४५० जना रावलपिण्डी, ३९८ जना झेलम र २०९ जना चकवालका हुन् ।

जियो टिभिका अनुसार पाकिस्तानमा असार महिनाको अन्त्यतिरदेखि शुरू भएको अविरल वर्षाका कारण हालसम्म २०० भन्दा बढीको मृत्यु भएको छ । तीमध्ये करिब १०० बालबालिका रहेका छन् । 

जियो टिभीका अनुसार सबैभन्दा धेरै पञ्जाब प्रान्तमा १२३ जनाको ज्यान गएको छ । त्यसपछि खैबर पख्तुनख्वामा ४०, सिन्धमा २१, बलुचिस्तानमा १६, इस्लामाबादमा १ र पाकिस्तानअधिकृत जम्मु–काश्मिरमा १ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेको कारण फरक–फरक भए पनि कम्तीमा ११८ जनाको मृत्यु घर भत्किएर भएको जनाइएको छ । त्यसैगरी ३० जना बाढीले बगाएर मारिएका छन् भने बाँकीहरूको ज्यान डुबेर, चट्याङ लागेर, करेन्ट लागेर र भूक्षयका कारण गएको हो ।

salt training

कमेन्ट गर्नुहोस्