२८ जेठ २०८३, बिहीबार

छाउगोठमा मृत्यु भएकी कमलाको परिवारलाई ५० हजार सहयोग

साउन ४, २०८२
कञ्चनपुर
छाउगोठमा मृत्यु भएकी कमलाको परिवारलाई ५० हजार सहयोग

छाउगोठमा सर्पले डसेर मृत्यु भएकी कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ स्थित निगालीकी २८ वर्षीया कमला दमाईंको परिवारलाई कृष्णपुर नगरपालिकाले आर्थिक सहयोग प्रदान गरेको छ ।​

नगरप्रमुख हेमराज ओझाले पालिकाको कार्यपालिकाबाट निर्णय गरी मृतक दमाईंको परिवारलाई रु ५० हजार आर्थिक सहयोग प्रदान गरिएको जानकारी दिए । 'अहिले मृतकको परिवारलाई रु ५० हजार आर्थिक सहयोग गर्ने निर्णय गरेका छौं,' उनले भने, 'मृतकका तीन बालकको पढाइका विषयमा छलफल गरेर निर्णय गर्नेछौं ।'

समाजमा रहेको कुप्रथाबाट अकालमा ज्यान गुमाउनु परेको बताउँदै नगरप्रमुख ओझाले यस्ता कुप्रथाको अन्त्यका लागि नगरभित्रका छाउगोठ भत्काउने अभियान शुरू भइसकेको जानकारी दिए । 'हामीले छाउगोठ भत्काउने अभियान शुरू गरिसकेका छौं । महिनावारी भएको समयमा महिलालाई सुरक्षित तरिकाले बस्ने वातावरणका लागि अभियानसहित जनचेतनामूलक अभियान चलाउन लागिरहेका छौं,' उनले भने, 'छाउगोठ राख्नेलाई पालिकाले दिने सामाजिक सुरक्षा भत्ता, सिफारिसलगायत सेवा सुविधामा रोक लगाउँछाैं ।'

उनले प्रशासनसँग छलफल गरेर छाउगोठ नभत्काउने परिवारलाई विद्युत् सेवाबाट समेत बञ्जित गराउने तयारी भइरहेको बताए ।

गत शनिबार कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ निगालीमा छाउगोठमा सुतिरहेकी २८ वर्षीया दमाईंको सर्पले डसेर मृत्यु भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्