२६ जेठ २०८३, मंगलबार
एमाले केन्द्रीय कमिटी बैठक

एमाले बैठकमा ओलीको ब्रिफिङ- मेरो कार्यकाल ११ महिना बाँकी छ, त्यसअगावै देउवालाई सत्ता हस्तान्तरण गर्छु

साउन ५, २०८२
काठमाडौं
एमाले बैठकमा ओलीको ब्रिफिङ- मेरो कार्यकाल ११ महिना बाँकी छ, त्यसअगावै देउवालाई सत्ता हस्तान्तरण गर्छु

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेससँग भएको ७ बुँदे सहमति अनुसार अबको ११ महिना अगावै सत्ता हस्तान्तरण गर्ने बताएका छन् । उनले कांग्रेस–एमाले सत्ता सहकार्यमा समस्या नरहेको समेत दाबी गरे ।

एमाले केन्द्रीय कमिटी बैठकलाई सोमबार पार्टी कार्यालयमा सम्बोधन गर्दै ओलीले कांग्रेससँग गरेको सहमति अनुसार अब आफ्नो कार्यकाल ११ महिना बाँकी रहेपनि त्यस अगावै कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने बताएका हुन् ।

‘देशमा बढेको सामाजिक अराजकता र राजनीतिक अस्थिरता अन्त्यका लागि कांग्रेस र एमाले मिलेर सरकार बनाएका थियौं, जसअनुसार मैले १३ महिना पूरा गरेँ’ ओलीको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले लोकान्तरसँग भने, ‘अब मेरो कार्यकाल ११ महिना बाँकी छ । त्यस अगावै देउवालाई सत्ता हस्तान्तरण गर्छु ।’

कांग्रेससँग गरिएको ७ बुँदे सहमतिमा ०८३ असारमा ओलीले देउवालाई सत्ता हस्तान्तरण गर्ने उल्लेख छ । ओलीले त्यसअगावै कांग्रेसलाई सत्ता हस्तान्तरण गर्ने बताए । विगतमा पनि ओलीले त्यस्तो बताउँदै आएका थिए ।

प्रधानमन्त्री ओलीले चलखेल भएपनि कांग्रेस–एमाले सत्ता गठबन्धन ०८४ सालसम्मै जाने बताए । ‘माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अहिले पनि अराजकता मच्चाउने र राजनीतिलाई गिजोल्ने काम गरिरहेका छन्, तरपनि गठबन्धन तलमाथि पर्दैन’, ओलीले भने ।

फरक प्रसंगमा एमाले अध्यक्ष ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्किने कुरा अस्वाभाविक र अप्राकृतिक हुने बताए ।

‘पूर्वराष्ट्रपतिज्यूसँग हिजो यहीँ भेट भयो, पार्टीको म्यान्डेड अनुसार नै मैले कुरा गरेको हो । मैले बालुवाटारमा भेटौं भनेको थिएँ, उहाँले पार्टी कार्यालयमा भेटौं भनेपछि हामीले कुरा गरेका हौं’ ओलीले भने, ‘तर, यहाँ बाहिर जसरी नेताहरू प्रवक्ताले जस्तै बोल्नु भयो, त्यसले राम्रो सन्देश गएको छैन ।’

salt training

कमेन्ट गर्नुहोस्