३१ जेठ २०८३, आइतबार

अमेरिकाको सपना देखाएर काकाले ठगे ५० लाख, बिचल्लीमा परेका भतिजलाई मिलापत्रको दबाब

साउन ५, २०८२
विराटनगर
अमेरिकाको सपना देखाएर काकाले ठगे ५० लाख, बिचल्लीमा परेका भतिजलाई मिलापत्रको दबाब
ठगी आरोपी मिङ्‌माडुन्डु शेर्पा ।

आकर्षक भविष्यको सपना देखाएर अमेरिका पठाउने प्रलोभनमा एक युवकलाई आफ्नै काकाले ५० लाख रूपैयाँ ठगी गरेको घटना सार्वजनिक भएको छ । 

पीडित डन्डुला शेर्पाले आफ्नै काका मिङ्‌माडुन्डु शेर्पाले विभिन्न बहानामा पैसा असुल गरी महिनौंसम्म विभिन्न देशमा अलपत्र पारेको भन्दै न्यायका लागि भौतारिरहेका छन् । 

ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-५ का स्थायी बासिन्दा रहेका मिङ्‌माडुन्डु काठमाडौं–६ मा बस्दै आएका थिए । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गत असार २२ गते पक्राउ गरेको छ । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक काजी कुमार आचार्यका अनुसार आरोपितलाई थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभागमा पठाइएको छ ।

अमेरिका जानुअघि डन्डुला काठमाडौंको चाबहिल तथा नयाँ बसपार्क क्षेत्रमा चिया पसल चलाएर आफ्नो परिवारको गुजारा गर्थे । सामान्य जीवन बिताइरहेका उनलाई आफ्नै काका मिङ्‌माडुन्डुले अमेरिकामा मासिक ५ लाख रूपैयाँसम्म कमाइ हुने सुनौलो सपना देखाए । 

आफ्नै आफन्तको कुरामा विश्वास गरेर डन्डुलाले ऋण खोजेर, सरसापट गरेर काकालाई पैसा बुझाउन तयार भए । ‘शुरूमा ६० लाख रूपैयाँमा अमेरिका पु‍र्‍याउने सहमति भएको थियो’, डन्डुलाले भने, ‘मैले विभिन्न चरणमा गरी कूल ५० लाख रूपैयाँ बुझाएँ, तर प्रहरीमा ४० लाखको मात्र बिगो दाबीसहित निवेदन दिएको छु ।’

डन्डुलाका अनुसार सन् २०२३ को अगस्ट महिनामा अमेरिकाको लागि उनको यात्रा शुरू भयो । तर, त्यो यात्रा अमेरिकातर्फ नभई अनिश्चितता र पीडातिर मोडिएको थियो  । उनलाई शुरूमा भिजिट भिसामा दुबई लगिएको थियो ।  जहाँ उनी दुई हप्ता बसे । 

त्यसपछि उनलाई अजरबैजान पु‍र्‍याइएको थियो । त्यहाँ उनले २८ दिन बिताए । उनको यात्रा यतिमा मात्रै सीमित भएन, उनलाई पुन: दुबई फर्काएर करिब चार महिना राखिएको थियो ।  यो लामो अवधिमा खान, बस्न र अन्य सबै खर्च आफ्नै पैसाले धान्नु परेको डन्डुलाले बताए ।  

त्यसपछि उनलाई कतार हुँदै साउथ अफ्रिका पु‍र्‍याइएको थियो । यात्राको सबैभन्दा कहालीलाग्दो मोड उनका लागि त्यहीँ आयो । साउथ अफ्रिकाको जङ्गलमा लगेर बन्धक बनाएर थप १० लाख रूपैयाँ असुलिएको उनको आरोप रहेको छ । 

‘हामीलाई ६–७ महिनासम्म बन्धक बनाएर राखियो’, उनले भने, ‘त्यहाँबाट उम्किन असम्भव जस्तै थियो । पछि घरमा आफन्तसँग सम्पर्क गरेर डेढ लाख रूपैयाँ मगाएर टिकट काटेपछि मात्रै बल्लतल्ल नेपाल फर्कन सकेँ ।’

यो ठगीले डन्डुलाको जीवन तहसनहस बनाएको छ । उनको परिवार अहिले चरम आर्थिक संकटमा छ । ऋणको ब्याजले सताएको उनले बताए ।  ‘छोराछोरीलाई स्कूलको शुल्क तिर्न नसकेर निकाल्नुप‍र्‍यो, कोठाको भाडा तिर्न नसक्दा घरबेटीले निकाल्न लागेका छन्’, उनले भने ।

न्यायको लडाइँमा रहेका डन्डुलाले अहिले मिलापत्रका लागि केही राजनीतिक व्यक्तिबाट समेत दबाब आउन थालेको गुनासो गरेका छन् । ‘किस्ता–किस्तामा पैसा तिर्छ, अहिले मैले पैसा बुझिसकेँ भनेर कागजमा हस्ताक्षर गर भनेर केही चिनिएका नेताहरूले नै दबाब दिइरहेका छन्,’ उनले भने,‘तर, मैले प्रस्ट भनेको छु, पहिला मेरो हातमा पैसा नपरी म कुनै पनि उधारो कागजमा हस्ताक्षर गर्दिनँ । पहिला पनि दु:ख पाइयो, अब पनि उनीहरू झुक्याएर दु:ख दिन खोज्दैछन् ।’

आफ्नै काकाबाट पाएको धोकाले विक्षिप्त बनेका डन्डुला अहिले न्यायको पर्खाइमा छन् । आफ्नो पैसा फिर्ता र दोषीलाई कडा कारबाही गर्न उनले माग गरेका छन् । डन्डुले आफूजस्ता धेरै ठगिएको दाबी गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्