२४ जेठ २०८३, आइतबार

अर्थमन्त्री पौडेल र चीनको सिड्का अध्यक्ष सियाओदोङ्गबीच भेटवार्ता, ४ परियोजनाको समझदारी पत्रमा हस्ताक्षर

साउन ५, २०८२
काठमाडौं
अर्थमन्त्री पौडेल र चीनको सिड्का अध्यक्ष सियाओदोङ्गबीच भेटवार्ता, ४ परियोजनाको समझदारी पत्रमा हस्ताक्षर

उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (सिड्का)का अध्यक्ष चेन सियाओदोङ्ग नेतृत्वको प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ ।

आज अर्थ मन्त्रालयमा भएको भेटवार्तामा नेपाल र चीन बीचको द्विपक्षीय सम्बन्धलगायत विकास साझेदारी, चीनको सहयोगमा सञ्चालित र आगामी दिनमा सञ्चालन हुने परियोजनाहरूका बारेमा छलफल भएको अर्थमन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

द्विपक्षीय भेटवार्तासँगै विभिन्न चार वटा परियोजनाका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बोनम्यारो ट्रान्सप्लान्टशन निर्माणसम्बन्धी परियोजना र निजामती कर्मचारी अस्पतालको विस्तार गर्न सम्भाव्यता अध्ययन गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको जनाइएको छ ।

जसमा नेपालको तर्फबाट अर्थ सचिव घनश्याम उपाध्याय र चीनको तर्फबाट सिड्का अध्यक्षले हस्ताक्षर गरे ।

त्यस्तै दुई देशबीच मानव संसाधन विकाससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । यसबाट एक हजार दुई सयभन्दा बढी सरकारी कर्मचारीलाई चीनका विभिन्न संस्थाहरूले आयोजना गरेको द्विपक्षीय तथा बहुपक्षीय सेमिनारमा भाग लिने अवसर प्राप्त हुनेछ ।

सोअवसरमा रसुवागढी–केरुङ अन्तरदेशीय विद्युत् प्रशारण लाइन निर्माणको सम्भाव्यता अध्ययनसम्बन्धी माईन्युटमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र सिड्का अध्यक्षले हस्ताक्षर गरे ।

त्यस्तै रसुवा जिल्लामा केही समयअघि बाढीले पुर्‍याएको भौतिक संरचनाको पुनः  निर्माणमा चीनले सहयोग गर्ने भएको छ । अर्थमन्त्रीसँगको भेटवार्ताका क्रममा सिड्काका अध्यक्ष सियाओदोङ्गले भौतिक संरचनाहरूको पुनः निर्माणलाई आवश्यक सहयोग गर्ने र भन्सार प्रक्रिया छिटो सञ्चालन हुने गरी काम गर्ने जानकारी दिए ।

अर्थमन्त्री पौडेलले विपद् लगत्तैको पुनः निर्माण नेपालको उच्च प्राथमिकतामा रहेको उल्लेख गर्दै भौतिक संरचनाहरूको पुनः निर्माणप्रति देखाएको तत्परता, चासो र प्रतिबद्धताका लागि चिनियाँ पक्षलाई धन्यवाद दिए । 'आयात–निर्यातका लागि मात्र होइन, राजस्वका हिसाबले पनि रसुवा नाका महत्त्वपूर्ण छ । त्यसैले पुनः निर्माणलाई छिटो अघि बढाउँछौं,' अर्थमन्त्री पौडेलले भने ।

salt training

कमेन्ट गर्नुहोस्