२४ जेठ २०८३, आइतबार

कांग्रेसका ७ पूर्वपदाधिकारीको एक स्वर : गठबन्धन सरकार २०८४ सम्मै चल्नुपर्छ

साउन ५, २०८२
काठमाडौं
कांग्रेसका ७ पूर्वपदाधिकारीको एक स्वर : गठबन्धन सरकार २०८४ सम्मै चल्नुपर्छ

नेपाली कांग्रेसका ७ जना पूर्वपदाधिकारीले कांग्रेस-एमाले गठबन्धनको भावनाअनुसार वर्तमान सरकार २०८४ सालको निर्वाचनसम्मै चल्नुपर्ने निष्कर्ष निकालेका छन् । उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा बसेको कांग्रेसका सात पूर्वपदाधिकारीको बैठकले यस्तो निष्कर्ष निकालेको नेता कृष्णप्रसाद सिटौलाले जानकारी दिए ।

‘कांग्रेसका पूर्वपदाधिकारी बसेर देशको समसामयिक राजनीतिबारे छलफल गर्‍यौं । सरकारले प्रभावकारी ढंगले काम गर्न सक्नुपर्छ । यसका लागि हामीले कांग्रेसको तर्फबाट सरकारमा प्रतिनिधित्व गर्ने प्रकाशमानजीलाई भनेका छौं । उहाँले प्रधानमन्त्रीसँग कुरा राख्नुहुन्छ । गठबन्धनको भावनाअनुसार सरकारले काम गर्नुपर्छ भन्ने हाम्रो मत हो,’ सिटौलाले भने, ‘सरकार बन्दा एमाले र अध्यक्ष शेरबहादुरबीच संविधान संशोधनको विषय स्वीकार गरिएको थियो । सबैलाई मान्य हुने गरी छलफल हुनुपर्छ । भोलि नै सभापतिलाई भेटेर हामी यी विषयमा जानकारी गराउँछौं ।’

गठबन्धन सरकारको भावना नै २०८४ सम्म चल्नुपर्ने रहेको निष्कर्ष आफूहरूले निकालेको सिटौलाले बताए । ‘गठबन्धनको सरकार भएपछि यसको भावनाअनुसार चल्नुपर्छ,’ सिटौलाले भने, ‘गठबन्धन २०८४ को चुनावसम्म जानुपर्छ भन्ने भावनाले काम गर्नुपर्छ भन्ने हाम्रो मत छ ।’

बैठकमा प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा. शशांक कोइराला, गोपालमान श्रेष्ठ र डा. प्रकाशशरण महत सहभागी थिए ।

यस अघि पनि कांग्रेसका पूर्वपदाधिकारीले आलोपालो छलफल गर्दै आएका छन् । उनीहरूले समयमै १५ औं महाधिवेशन गर्नुपर्ने र सभापतिमा आफूहरूमध्ये एक जनालाई अगाडि सार्नुपर्ने मत राख्दै आएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्