११ असार २०८३, बिहीबार

शिक्षा र स्वास्थ्य क्षेत्रमा भारतको ३९ करोड सहयोगमा पाँच परियोजना सञ्चालन हुने

साउन ५, २०८२
काठमाडौं
शिक्षा र स्वास्थ्य क्षेत्रमा भारतको ३९ करोड सहयोगमा पाँच परियोजना सञ्चालन हुने

भारत सरकारले नेपालमा शिक्षा र स्वास्थ्य क्षेत्रसँग सम्बन्धित पाँच वटा उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाउने भएको छ ।

उक्त परियोजनाका लागि काठमाडौंस्थित भारतीय राजदूतावास, नेपाल सरकारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र सम्बन्धित कार्यान्वयन निकायबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौताअनुसार कूल अनुमानित ३९ करोड रूपैयाँ बराबरको अनुदानमा पाँचवटा नयाँ परियोजना सञ्चालन गरिनेछ । ती परियोजनामा चार वटा विद्यालय भवन र एक वटा अस्पताल भवन निर्माण समावेश छन् ।

भारतीय दूतावासका अनुसार धनुषाको बटेश्वर गाउँपालिका-३ मा जनशक्ति माध्यमिक विद्यालय भवन निर्माण, पर्साको पोखरिया नगरपालिकामा महोवनी पद्म माध्यमिक विद्यालयको निर्माण, अछामको मेल्लेख गाउँपालिकामा बासुकी माध्यमिक विद्यालयको निर्माण, बाराको प्रसौनी गाउँपालिका-२ मा बेंगा साह माध्यमिक विद्यालयको भवन, छात्रावास तथा पुस्तकालयको निर्माण र मनाङको नासोँ गाउँपालिका-५ मा पाँच शय्याको अस्पताल भवनको निर्माण गरिनेछ । 

यी परियोजनाहरू सम्बन्धित स्थानीय निकायमार्फत् कार्यान्वयन गरिनेछ । भारतीय दूतावासका अनुसार, यस्ता संरचनाको निर्माणले शिक्षा र स्वास्थ्य सुविधामा पहुँच विस्तार गरी स्थानीय बासिन्दाको जीवनस्तर सुधारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

null

२० वर्षमा ५७९ सामुदायिक परियोजना

सन् २००३ यता भारत सरकारले नेपालभर ५७९ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएको छ । तीमध्ये ७ वटै प्रदेशमा कार्यान्वयन भएका ४९६ परियोजना पूरा भइसकेका छन् भने बाँकी परियोजना निर्माणको विभिन्न चरणमा रहेका दूतावासले जनाएको छ । 

नेपालका ७ वटै प्रदेशभरि स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटी, सरसफाइ क्षेत्रमा र सार्वजनिक उपयोगी वस्तुको निर्माणमा परियोजना सम्पन्न भएका दूतावासले जनाएको छ ।

भारतीय पक्षले नेपालसँगको सहकार्यलाई ‘नजिकको छिमेकी’को नाताले बहुआयामिक सम्बन्धको निरन्तरता भनेको उल्लेख गरेको छ ।

परियोजनामार्फत् नेपाल सरकारले निर्धारण गरेका प्राथमिकताका क्षेत्रमा पूर्वाधार विकासमा भारत सरकारले निरन्तर साथ दिने बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्