
बैंकिङ कसुर मुद्दाका २ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-३० बस्ने ४९ वर्षीया लता गुरुङ श्रेष्ठ र काठमाडौं महानगरपालिका-२९ बस्ने खोटाङ ऐँसेलुखर्क गाउँपालिका-५ घर भएका ४९ वर्षीय वृहस्पति राई रहेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं जिल्ला अदालतको २०८१ मंसिर १६ गतेको फैसलाले उक्त मुद्दामा २ लाख २२ हजार रूपैयाँ जरिवाना, १ दिन कैद र क्षतिपूर्ति बापत शुल्क ८ हजार ८ सय ८० रूपैयाँ पीडित राहत कोषमा बुझाउने पर्ने सजाय ठहर भई फरार रहेकी लतालाई काठमाडौं सितापाइलाबाट सोमबार पक्राउ गरेको हो ।
साथै, सोही मुद्दामा उच्च अदालत पाटन ललितपुरको २०७९ असार २८ गतेको फैसलाले २० लाख रूपैयाँ जरिवाना, ४ दिन कैद र क्षतिपूर्ति बापत शुल्क ८० हजार रूपैयाँ पीडित राहत कोषमा बुझाउने पर्ने सजाय ठहर भई फरार रहेका वृहस्पतिलाई काठमाडौं शंखमुलबाट आइतबार प्रहरीले पक्राउ गरेको हो ।