
‘मसँग एउटा सपना छ’, नामको चर्चित भाषण गरेका अमेरिकी मानव अधिकारकर्मी डा. मार्टिन लुथर किङ जुनियरमाथि अमेरिकी फेडरल ब्यूरो इन्भेस्टिगेशनले दिएको दु:खबारे फाइल सार्वजनिक भएपछि यसले विश्वभरको ध्यान खिचेको छ ।
झन्डै पाँच दशकपछि मंगलबार राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकी प्रशासनले उक्त फाइल सार्वजनिक गरेको हो । सार्वजनिक भएका दस्तावेजमा किङप्रति अमेरिकन सरकारले त्यतिबेला गरेको गलत व्यवहारबारे विस्तृतमा उल्लेख गरिएको छ ।
यो दस्तावेज २ लाख ४० हजारभन्दा बढी पृष्ठको छ । सन् १९७७ देखि अदालतको आदेशअनुसार गोप्य रूपमा राखिएको फाइल मंगलबार सार्वजनिक गरिएको चो । त्यतिबेला एफबीआईले ती अभिलेख संकलन गरेर राष्ट्रिय अभिलेख रेकर्ड प्रशासनलाई हस्तान्तरण गरेको थियो ।
एफबीआईको गोप्य नजर
त्यतिबेला अमेरिकामा शीतयुद्धकालीन डर र भित्रभित्रको विभेदको वातावरणमा नागरिक अधिकार आन्दोलन चुलिएको थियो । अहिंसात्मक माध्यमबाट सामाजिक न्यायको माग गरेका किङलाई एफबीआईले एक ‘सम्भावित खतरा’का रूपमा लिएको थियो ।
अहिले सार्वजनिक भएका दस्तावेजहरूले एफबीआईले किङको हरेक गतिविधिमा गुप्त निगरानी राखेको मात्र होइन, उनको व्यक्तित्वलाई ध्वस्त पार्न अनेक उपाय अपनाएको पुष्टि भएको छ ।
अधिकांश रिपोर्टमा किङमाथि चरित्र हत्या हुने खालका आरोप देखिन्छन् । ती आरोपमा यौनिक गतिविधि, विदेशी शक्तिसँगको साँठगाँठ, होटलमा अनैतिक गतिविधि र सहकर्मीसँग अस्वाभाविक सम्बन्धको आरोप छन् ।
यद्यपि ती आरोप कानूनी रूपमा पुष्टि गरिएका छैनन् । अझ, उनलाई अज्ञात नामबाट लेखिएको एउटा चिठीमा त उनलाई आत्महत्या गर्न सुझाव दिइएको थियो ।
जे. एडगर हुभरको मनोमानी
एफबीआईका लामो समयसम्म प्रमुख रहेका जे. एडगर हुभर किङका कट्टर विरोधी थिए । उनले किङलाई देशको सामाजिक संरचनामा खलल पुर्याउने व्यक्ति ठानेका थिए । हुभरले किङको आन्दोलनमा कम्युनिस्ट प्रभाव रहेको र त्यो प्रभाव सामाजिक अस्थिरता निम्त्याउन प्रयोग भइरहेको अनुमान गर्दथे ।
त्यही सन्देहका आधारमा एफबीआईले किङको टेलिफोन र उनको हरेक सार्वजनिक उपस्थिति ट्र्याक गरे । उनका सहकर्मी र निकटका व्यक्तिहरूलाई समेत लक्षित गर्दै ‘फिसिङ’ र ‘इन्फिल्ट्रेसन’ जस्ता रणनीति प्रयोग गरिएको मंगलबार सार्वजनिक फाइलमा छ ।
किङको ‘ड्रिम’विरुद्ध राज्यले गरेको ‘षड्यन्त्र’
किङको विचारले अमेरिकी समाजको आधारभूत ढाँचामाथि प्रश्न उठाउँथ्यो । यसैले, उनलाई असहमति देखाउने अभियन्ता हैन, अस्थिरता फैलाउने षड्यन्त्रकारी ठानियो ।
एफबीआईले गुप्त रूपमा चलाएको ‘COINTELPRO’ कार्यक्रमले सरकारका आलोचकहरूलाई गुप्त निगरानी र दबाबद्वारा निष्क्रिय बनाउने उद्देश्य राखेको थियो । किङ यो कार्यक्रमको प्रमुख लक्ष्यमध्ये एक थिए ।
उनलाई अज्ञात व्यक्तिको नामबाट पठाइएको चिठीमा लेखिएको थियो, ‘हामी तिमीबारे सबै जान्दछौं, तिमी समाप्त भयौ भने राम्रो हुन्छ ।’
ट्रम्प प्रशासनले किन सार्वजनिक गर्यो दस्तावेज ?
राष्ट्रपति ट्रम्पले आफ्नो चुनावी अभियानकै क्रममा जोन एफ केनेडीको हत्यासँग सम्बन्धित र अन्य हाइ प्रोफाइल फाइल सार्वजनिक गर्ने बताएका थिए ।
सीएनएनको एक विश्लेषणअनुसार ट्रम्प प्रशासन आफैं पनि एफबीआई र अन्य सुरक्षासंस्थाप्रति आलोचनात्मक देखिएको छ । ट्रम्पका समकक्षीसँगको सम्बन्ध, ब्ल्याक लाइभ्स म्याटर आन्दोलन र जातीय विभेदका मुद्दामा ट्रम्पको संवेदनशीलता निकै न्यून देखिन्छ ।
त्यसैले, कतिपयका लागि यी दस्तावेजको सार्वजनिकिकरण हुनु नागरिक अधिकारप्रति प्रशासनको समर्थन नभएर राज्यसंस्थालाई कमजोर बनाउने प्रयासको एक रूप रहेको विश्लेषकहरूले चर्चा गरेका छन् ।
यी दस्तावेज केवल ऐतिहासिक तथ्यका रूपमा मात्र महत्त्वपूर्ण नभएर आजको अमेरिकाका लागि चेतावनी पनि रहेको सीएनएनको विश्लेषण छ । ब्ल्याक लाइभ्स म्याटर, प्रहरीको दमन र सामाजिक असमानताका मुद्दा अहिले पनि गहिरिएका छन् ।
धेरै सामाजिक कार्यकर्ताहरूले किङका विचारलाई मार्गनिर्देशक बनाएका छन् । किङमाथिको गरिएको दमनले लोकतन्त्रमा राज्य कति असहिष्णु हुनसक्छ भन्ने देखाएको छ । शान्तिपूर्ण आवाजलाई पनि निगरानी, सन्देह र दमनका माध्यमबाट रोकिने प्रयास भएको दस्तावेजहरूमा उल्लेख छ ।