
नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले संघीय निजामती विधेयकबाट कुलिङ पिरियड हटाइएको विषयमा प्रधानमन्त्रीमाथि शंका उब्जिएको बताएका छन् ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद दाहालले प्रधानमन्त्री ओलीलाई पनि छानबिनको दायरामा ल्याउनु पर्ने बताएका हुन् ।
‘संसदीय इतिहासमै नकारात्मक नजिर स्थापित हुनेगरी संघीय निजामती विधेयकबाट कुलिङ पिरियड हटाएर बेइमानी गरियो । यो कसले गर्यो भनेर अहिले छानबिन समिति बनेको छ’ सांसद दाहालले भने, ‘सम्माननीय प्रधानमन्त्री आबद्ध दल नेकपा एमालेको तर्फबाट राष्ट्रियसभामा कुलिङ पिरियड विरुद्धमा संशोधन परेको छ । यसले सम्माननीय प्रधानमन्त्रीमाथि शंका उब्जन्छ । प्रधानमन्त्रीलाई छानबिनको दायरामा ल्याउन संसदीय समितिको ध्यानाकर्षण गराउँछु ।’
सांसद दाहालले आरोप लगाउँदा प्रधानमन्त्री केपी ओली संसद्मा उपस्थित थिए ।