०५ साउन २०८३, मंगलबार

कुश्मामा रेल स्टेसनबारे ओलीको जवाफ- स्वस्थानीमा शिवजीले पार्वतीलाई देखाएको महल हो र ?

साउन ७, २०८२
काठमाडौं
कुश्मामा रेल स्टेसनबारे ओलीको जवाफ- स्वस्थानीमा शिवजीले पार्वतीलाई देखाएको महल हो र ?

प्रधानमन्त्री केपी शर्मा ओलीले कुश्मामा रेल्वे स्टेसन भनेर आफूले विकासको सपना देखाएको बताएका छन् । नेपालमा पेट्रोलियम अन्वेषणको कुरा गर्दा व्यंग्य गर्नेहरू अहिले जस लिन खोजेको ओलीको टिप्पणी छ ।

बुधबार प्रतिनिधिसभा बैठकमा भएको प्रश्नोत्तरका क्रममा नेकपा एसका सांसद मेटमणि चौधरीले कुश्मामा कहिले रेल्वे स्टेसन बन्छ भनेर सोधेको प्रश्नमा ओलीले साँझ घोषणा गरेर बिहान रेल्वे नबन्ने बताएका हुन् ।

‘कुश्मामा रेल्वे स्टेसन भनेर माननीयज्यूले व्यंग्य गर्न खोज्नु भएको बुझिन्छ । हिजो बेलुका भनेको रातभरिमा तयार हुने हो र रेल ? स्वस्थानी कथामा शिवजीले पार्वतीलाई देखाएको महल जस्तो हो र ?’ ओलीले भने, ‘नेपालमा रेल ल्याउन सम्भव छ भनेर, किनेर ल्याएर चलाइएको छ । चल्दैन भन्नेहरू पनि थिए नि !’

नेपाल सरकारले रेल पूर्वाधार विकास र विस्तारका लागि मेच–महाकाली विद्युतीय रेलमार्ग र पोखरा-काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन सम्पन्न गरेको ओलीले बताए । 

‘हामीले आजका लागि मात्र हेर्ने होइन, भविष्यका सन्ततिको सुखी भविष्य हेर्नुपर्दछ । कीर्तिपुरमा क्रिकेट बनाउने कुरा ३ सय दिन भनेको थिएँ, खरिद प्रक्रियाको जटिलताका कारण काम प्रारम्भ गर्न ५ महिना लाग्यो’, ओलीले भने, ‘रंगशाला बन्दैछ त, यसमा खुसी हुनु छैन, २ दिन किन नाघ्यो भनेर प्रश्न हुन्छ । अनि काम गरेकामा जस दिन पनि कहिले कहिले सिक्दा हुन्थ्यो ।’

रेलको कुरा विकासको सपना देखाएको ओलीले बताए । ‘विकासको सपना देखाएको हो, यो पनि पूरा हुने दिन आउँछ । दैलेखमा ग्यास उत्खनन् गर्दा व्यंग्य गर्नेहरू अहिले हाम्रो पनि योगदान छ भनेर भनिरहेका छन् र अहिले व्यंग्य गर्ने माननीयले एकलौटी जस लिन पाइँदैन भनेर भन्ने दिन आउँछ’, ओलीले भने ।

२०७५ सालमा प्रधानमन्त्री बनेको बेला ओलीले बोलेको कुरालाई लिएर नेकपा एसका सांसदले कटाक्ष गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्