०३ साउन २०८३, आइतबार

दलाल पूँजीवाद र आत्मसमर्पणवादी प्रवृत्तिविरुद्ध एकजुट हुनुपर्छ- प्रचण्ड

साउन ७, २०८२
काठमाडौं
दलाल पूँजीवाद र आत्मसमर्पणवादी प्रवृत्तिविरुद्ध एकजुट हुनुपर्छ- प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलाल पूँजीवादविरुद्ध क्रान्तिकारी शक्ति एकजुट हुन आवश्यक रहेको बताएका छन् ।

पुष्पलाल स्मृति दिवसको अवसरमा बुधबार काठमाडौंस्थित राष्ट्रिय सभागृहमा आयोजित विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले सबै कम्युनिस्ट शक्तिहरूलाई दलाल पूँजीवाद र आत्मसमर्पणवादी प्रवृत्तिविरुद्ध एकजुट भएर अघि बढ्न आह्वान गरे । 

‘कमरेड पुष्पलाललाई सच्चा सम्मान गर्ने हो भने कम्युनिस्ट क्रान्तिकारीहरूबीच एकता हुनुपर्छ’, प्रचण्डले नेपाली कम्युनिस्ट आन्दोलनका साझा व्यक्तित्वका रूपमा पुष्पलाललाई स्मरण गर्दै भने, ‘पुष्पलाल हामी सबैको साझा केन्द्र हुनुहुन्छ । उहाँलाई केन्द्रमा राखेर सच्चा कम्युनिष्टहरूले पार्टी एकता र मोर्चा निर्माण गर्नु आजको आवश्यकता हो ।’

उनले आफूले एक रूपैयाँ लेबी तिरेर पुष्पलाल समूहमार्फत् पार्टी सदस्यता लिएको स्मरण गरे । 

‘पुष्पलाललाई जनयुद्धका क्रममा सम्मान गर्ने गरी नै मैले दस्तावेज पनि लेखेको थिएँ । त्यसैगरी झापा विद्रोहको सम्मान र पुष्पलालमाथि लगाइएको आरोपको खण्डन गर्दै दस्तावेज लेख्ने अवसर पनि मलाई प्राप्त भएको थियो’, उनले भने । 

संविधानसभाको ऐतिहासिक पृष्ठभूमि उल्लेख गर्दै अध्यक्ष प्रचण्डले जनयुद्धमार्फत् जनतालाई गोलबन्ध गरेर मात्रै संविधानसभा सम्भव भएको स्मरण गराए । 

‘संविधानका विषयमा युरोपमा बुद्धिजीवीहरूले बहस गर्थे, तर ती बहसलाई मार्क्सले जनताको साथ र विद्रोहविना कागजका खोस्टा मात्र हुन् भनेका थिए । नेपालमा पनि संविधान सभाको बहस पहिलेदेखि हुँदै आए पनि निर्वाचन हुन सकेको थिएन । माओवादी केन्द्रले जनयुद्धको शुरूआत गरी जनतालाई गोलबन्द गर्दै जनमिलिसिया सेना निर्माण गरेपछि मात्रै जनताको विद्रोहको बलमा संविधानसभाको निर्वाचन सम्भव भएको हो’, उनले भने । 

वर्तमान परिस्थितिमा केही भ्रम फैलाउने प्रवृत्ति देखिएको उल्लेख गर्दै त्यसविरुद्ध जनता र क्रान्तिकारी शक्तिहरूलाई एकताबद्ध गराउनुपर्नेमा उनले जोड दिए । ‘सर्वत्र मिडियाबाट भ्रम र निराशा फैलाउने काम भइरहेको छ । तर, हामीले जनतामा वर्गीय आशा जगाउनै पर्छ’, प्रचण्डले भने । 

प्रचण्डले कम्युनिस्ट आन्दोलनलाई संस्थागत गर्दै अगाडि बढ्नका लागि पुष्पलालको विचारलाई मूल मार्गदर्शक मान्नुपर्ने धारणा व्यक्त गरे । 

salt training

कमेन्ट गर्नुहोस्