१६ असार २०८३, मंगलबार

गृह मन्त्रालयको नक्कली कर्मचारी बनेर ठगी गर्ने व्यक्ति पक्राउ

साउन ७, २०८२
काठमाडौं
गृह मन्त्रालयको नक्कली कर्मचारी बनेर ठगी गर्ने व्यक्ति पक्राउ

गृह मन्त्रालयको कर्मचारी हुँ भन्दै झुटो परिचय दिई जागिर लगाइदिने लोभ देखाएर ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्ने व्यक्ति सिन्धुलीको कमलामाई नगरपालिका-१३ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका-३१ नयाँ बानेश्वर बसोबास गर्दै आएका ४६ वर्षीय गंगा हरि न्यौपाने छन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको समन्वयमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीको टोलीले भिमान चोकबाट पक्राउ गरेको हो ।

न्यौपानेले आफू गृह मन्त्रालयको कर्मचारी भएको बताई विभिन्न व्यक्तिहरूबाट नागरिकताको प्रतिलिपिसहित अन्य कागजात संकलन गरी जागिर लगाइदिने भन्दै ठगी गरेको उजुरी परेपछि अनुसन्धान शुरू गरिएको थियो ।

पक्राउ परेका न्यौपानेविरुद्ध विगतमा पनि विभिन्न ठगी, कीर्ते र आपराधिक कार्यमा संलग्न भएको विवरण सार्वजनिक भएका छन् । प्रहरीले दिएको जानकारीअनुसार, उनले २०६९ सालमा सैनिक अनुसन्धान सम्बन्धी नक्कली पत्र पेस गरी कैदी छुटाएका थिए भने २०७४ सालमा शान्ति सेनामा पठाइदिन्छु भनी चार लाख रूपैयाँ ठगी गरेको जाहेरी परेको छ ।

यस्तै, २०७४ सालमै उनले नख्खु कारागारबाट कैदी छुटाइदिने भन्दै १२ लाख रूपैयाँ ठगी गरेका थिए । २०७५ मा उनले लालपुर्जासहित जग्गा बिक्री गरिदिन्छु भन्दै रकम ठगी गरेका थिए भने नेपाली सेनाको सहायक सेनानी बनाइदिन्छु भन्दै विभिन्न व्यक्तिलाई प्रलोभनमा पारेको उजुरी पनि परेको छ ।

२०७९ सालमा भने उनले काठमाडौं जिल्ला अदालतको नक्कली फैसला बनाई लिखतसम्बन्धी कसुर गरेको प्रहरी प्रतिवेदनमा उल्लेख छ ।

पक्राउ परेका न्यौपानेलाई थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्